२०७५ चैत १२ गते घरेलु तथा साना उद्योग कार्यालय धनुषाले गणेशमान चारनाथ नगरपालिका–८ स्थित राष्ट्रिय प्राथमिक विद्यालय चितहा, लवटोलीको पूर्वपट्टि संकटमोचन क्रसर उद्योग सञ्चालन गर्न अनुमति दियो।नागेन्द्र साह र मञ्जुकुमारी साह सञ्चालक रहेको यस उद्योगको पश्चिमपट्टि विद्यालय र घना बस्ती छन्।
क्रसर मेसिन चलेका बेला उद्योगको धुलोले बस्ती र विद्यालय परिसर कुइरीमण्डल हुन्छ।आवाजले बस्ती अनिँदो रहन बाध्य छ। क्रसरको आवाजले पठनपाठनमा असर गरेपछि विद्यालयले घरेलुलाई पत्राचार गरेर निकास दिन भन्यो तर घरेलुले वास्तै गरेन। गाउँबस्ती र विद्यालयसँगैको सो क्षेत्रमा क्रसर उद्योग सञ्चालन नगर्न स्थानीय तथा विद्यालय पक्षले निरन्तर घरेलुलाई गुहारिरहे।
गाउँका अगुवा घरेलुको कार्यालयमा पुगेर असहमतिसहित निवेदनसमेत दर्ता गराए।तर घरेलुले सो क्रसर उद्योगलाई छोएन।उद्योगसँग टाँसिएको पूर्वतर्फको ४ (ग) को ६ नम्बर कित्ताका जग्गाधनी रामलोचन महतो हुन्।‘चारकिल्ला प्रमाणित गर्दा बुबा (रामलोचन) को किर्ते हस्ताक्षर गरेर प्रमाण पेस गरिएको रहेछ,’ रामलोचनका छोरा भगतले भने ।