कालो जेठ– १९ अर्थात् मना सार्कीको हत्या भएकाे दिन

Breaknlinks
Breaknlinks

जातीय विभेदको महसुस कहिलेदेखि गर्न थाले, त्यो अहिले ठ्याक्कै भन्न सक्दिनँ। तर एक दिन सोच्न थाले।

मैले सम्झने पहिलो विभेद गाउँको एउटा कुवालाई हो। कुवा गाउँमा बस्ने चारै वर्ण (भ्यागुता , चौपाया , चराचुरुङ्गी र मान्छे)को साझा थियो। दिउँसो कहिलेकाहीँ चराहरू कुवाको देवालमा बसेर दिशासम्म गर्थे। गाईगोरु आएर मज्जाले पानी पिउन सक्थे। कुवाको भित्तामा आएर आफ्नो जिउ कनाउन पाउथे। तर गाउँमा यस्ता मान्छेहरु पनि थिए, उनीहरु कुवा छुन पाउथेनन्। उनीहरू पानी लिन आउथे। तर कुवा वरिपरि राखिएका काठका मुढा छुन पाउथेनन्। कथित उपल्लो जातका ती काठका मुठामा लुगा धुन्थे। त्यसैमा बाल्टी राखेर चौपायालाई पानी पिलाउथे तर कुनै पनि कथित तल्लो जातलाई ती मुढामा बस्न पनि दिन्थेन्। 

त्यसैले कोहि कथित उपल्लो जातको कुवामा छ भने उसैले पानी हालिदिन्थ्यो। पानी हालिदिने मान्छे आफ्नो काम गरिरहेको वा उसलाई एक्लो महसुस भएको छ भने ती तल्लो जातको मान्छे हातमा भाडा लिएर उभिरहन्थे। कुरा गरिरहन्थे। बाध्यता बनाइएको थियो मसिनो स्वरले लय मिलाउदै कुरा गर्नुपर्ने। यदि त्यहाँ भएको कथित उपल्लो जातकोबमान्छे रिसायो भने। अर्को मान्छेसँग लय मिलाएर कुरा गर्नु पर्थो। यदि कुवामा कोहि छैन भने कुनै उपल्लो जातिको घरमै गएर लय मिलाउनु पर्थो। तर गाउँमा उनीहरुलाई नै भनिन्थो- 'नारद, मागल गाए जसरी कुडा हद्दो छ / हद्दी छ।' स्पस्ट छ जातीय बेवास्ताले मान्छेको आत्म सम्मानमा ठेस पु-याइरहेकाे छ। एउटा लडाइँ बाँकी छ आत्मसम्मानको। आत्मसम्मान खोज्दा मारिएकी मना सार्कीप्रति हार्दिक श्रद्धाञ्जली।

बिर्सिनै नसकेको अर्को घटना छ। गाउँमा प्रायः सबैका घरमा चौपाया थिए। चौपाया लिएर गाउँका सबै गोठाला जान्थेउ, अमौरी। एकदिन त्यसरी नै हामी अमौरी गएका थियौं। त्यो दिन एउटा भाईको खुट्टामा भैसीले टेक्यो। भैसीको खुट्टाको छाप उस्को खुट्टाका औलाहरु बसेको थियो। उ रोइरहेको थियो। यत्तिकैमा नजिकैको घरबाट एउटा दिदी लोटामा पानी ल्याएर आइन तर हामीसँगै गोठाला गएका एउटा बाजेले - 'तँ डुमिनी मेरा नातिका लागि पानी लिएर आई, खुब चड्याकी रैछैइ।' भन्दै गाली गर्न थाल्नु भयो। भाईलाई त्यो पानी खान दिनुभएन। भाइ पानी–पानी भनिरहेको थियो। तर पनि खान पाएन। एक हिसाबले हेर्दा आज पानीको लडाइँ बाँकी छैन। तर आत्मसम्मानको लडाई भने बाँकी छ। 

तराईमा पानी छोएकै निउमा मर्न परेको छैन। घर घरमा कल छन्। ती घर–घरमा कल हुँदा अहिलेसम्म बाच्न पाएकी तमाम मना सार्कीलाई बधाई छ।

एक अर्को घटना छ।

एकदिन तास खेलिरहेको थिए, म्यारिज। पहिलो माल हेर्ने म भए। माल कटेको थियो। मलाई परेको टडेलामा। दुईवटा जोकेर पनि थिए क्यारे। मैले एउटा दुईको माल फालिदिए, अरुले हेर्न भ्याएकै थिएनन्। म पछि बसेका दाईले त्यही दुईको माल ले हेर्न पाउनुभयो। माल हेर्नूभयो। अनि उहाँले मेरो टडेलामा हेर्नूभयो। र म तिर हाँस्दै भन्नूभयो -'पुग्यै डुमिनी, दियो बाली पाद्दि,' कारण थियो दुईको माल मैले फ्याकिदिनु। तर उनले मुखबाट फालेका शब्द? हो यहाँनेर थाहा हुन्छ। मना सार्की कुन कारणले मारिएकी हुन भन्ने। 

मना सार्की घरको सब काम छोडेर हातमा गाग्री बोकेर उनीहरुसँग कुरा गरिरहनु पर्थ्याे। उनीहरुले पानी हालिदिनु पर्थो, यहि हो? कथित उपल्लो जातले नबोले पनि कुरा यहि हो- 'पुगेकी डुमेनी, दिओ बाली पाद्दी।'

कसरी बन्न सक्छ डुमेनी, जननिर्वाचित। मना सार्की थाहा नपाएरै निर्वाचित भएकी थिइन्। नत्र त मुगुमा झैं कालिकोटमा पनि नारा लाग्थो - 'माथी बुम हराऔँ तल डुम हराऔँ।' (महेश नेपाली, मुगु डायरी १९) देशमा रहेका विभिन्न स्थानीय तहमा जति दलित जननिर्वाचित छन्। वडा–सदस्य त पार्टीकै भरमा जितेका छन्। वडा–सदस्य उठ्यो भनेर उपल्लो जातले विचार नगेरेकाले जितेका हुन् र दलितबाट टिकट पाएका प्रमुख र उपप्रमुख पार्टी भित्रैकै कथित उपल्लो जातकाको ठुलो घातलाई जसोतसो हराएर मात्र जितेका हुन्। यदि दलित भएकै कारण मात्र विभिन्न पार्टी भित्रै घात नहुने हो भने। आँकडा केही बढी नै देखिन्थो । दलित भनेर दुई हात जोडेर नमस्ते सम्म गर्न नचाहनेहरुले नवराज नमारी छोड्थे? 

यदि देशका लागि सबैको कर्तव्य र अधिकार समान छन् भने नेतृत्व दिनमा कुन घमण्डले रोकिरहेको छ? के अझै आफूलाई मनुस्मृतिले सल्यक्रिया गरि मुख, हातबाट निकलेको हो ठानिरहन्छन्? यदि आफू उच्च नै हो भन्ने लाग्छ भने अब मान्छे जन्माउने द्वार पनि मुख र हातमा नै हुनुपर्‍याे। हैन त क्षमता जस्को नेतृत्व उसैको। 'माथी बुम हराऔँ, तल डुम हराऔँ।' के डुम भएकै कारणले हार्नुपर्ने हो सँधै? एउटा लडाइँ यहाँ पनि बाँकी छ। समाज र सरकारसँग। जुन लडाइँ लड्दा लड्दै २०७५- जेठ -१९ कालिकोटको लालुमा सहिद भइन्, मना सार्की।

दिनदाहडै जब चुनावको प्रचार–प्रसारमा नारा लाग्छ -'माथी बुम हराऔँ तल डुम हराऔँ'! त्यति बेला कुनै डुमले सोच्यो कि सोचेन- 'यदि हामीले जित्यौ भने?'

उस्को मनमा जे–सुकै हाेस्। तर कथित उपल्लो जातले सोचिसकेको हुन्छ- 'जित्यौ भने मारीने छौ?' 
सप्रमाण - मना सार्की ।
मारिनुको कारण -पानी छोइदिई।
पानी छोएकै भरमा मान्छे, मारिनु?

यो भन्दा अर्को तर्क भेटिदैन, मना सार्की मारिनुको। अझै हामी लाज नमानी भनी हिड्छौं- 'म यस्तो भेदभाव छुवाछूत केहीँ गर्दिनँ?'

यो भन्नू नै लाज लाग्नु पर्ने हो। जुन समाजमा हामी बसिरहेका छौं। त्यही समाजले सुन्नै नसकिने उखान, उठ्नै नसकिने गरि आत्मसम्मानमा ठेस लगाईरहँदा हामी चुप छौं।

कथित उपल्लो जात सदियौंदेखि मुकुण्डो लगाएर बसेको छ। भन्छ- 'साबरिको जुठो बयर रामले खाएका थिए र आफै छेक्छ साबरीलाई मन्दिर पस्नबाट। इतिहासका पाना पल्टाएर हेर्ने हो भने पनि, धेरै कानमा सीसा पगालेर हाल्ने आदेश भेटाउछौं।

यस्तो कुनै वर्ष छैन होला। दलित भएकै कारण मान्छे नमारिएको। 
शिव सन्कर सप्तरीमा बिष खुवाएर मारिए।
सेते दमाई दैलेख, खुकुरी प्रहार गरिएर मारिए।
अजित परियार काभ्रे, झुण्डाएर मारिए।
नवराज विक - मारिए।
अंगिकार पासी मारिन। लिस्ट बनाउदै जाने हो भने कुनै कथित उपल्लो जातको असली अनुहार बहुत कुरुप देखिने छ।

जातीय छुवाछूत र भेदभावका आधा–आधी मुद्दाहरु त दर्ता नै हुँदैनन्। भएका धेरैको फैसलानै हुँदैन। कानून पूर्णतया लागू नै हुन पाउदैन र मरिरहने छन्। अझै मना सार्कीहरू। 

यो कुसंस्कार उपल्लो जातले आफ्ना सन्तानलाई बिरासत छाड्दै गइरहेको छ। समाजमा भएका अनेक विभेदकारी उखान, कामको बाड्फाँड। यी हट्नुपर्छ। हाम्रो कोसिस कम्तिमा भएपनि अब यो कुसंस्कारको छायासम्म पनि हाम्रा सन्ततिमा पर्नुहुन्न। हाम्रो सन्तति कसैलाई पानी छोएकै कारण कसैलाई नमारुन। प्रेम गरेकै कारण कसैको हत्या नहोस्। मना सार्कीको जित सिङ्गो समाजको जित बनोस्।

प्रकाशित मिति: : 2021-06-02 07:53:00

प्रतिकृया दिनुहोस्