सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले) विवाद चर्किंदै गएर फुटनजिक पुगेपछि एकता जोगाउन दोस्रो तहका नेताले सक्रियता बढाएका छन्।
प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाल समूहबीच विवाद चर्किंदै गएको छ। ओली र नेपाल समूह पार्टी सञ्चालन, विधान, विधि, प्रक्रिया विषयमा अडान लिँदै आआफ्नै रणनीतिअनुसार अघि बढ्न खोजेपछि विभाजननजिक पुगेको छ।
एकता जोगाउने विषयमा दोस्रो तहका नेताबीच गम्भीर छलफल सुरु भएको छ। शीर्षनेतालाई दबाब दिँदै उनीहरू पार्टी एकता जोगाउन अघि बढ्नुपर्ने निष्कर्षमा पुगेका छन्। स्रोतका अनुसार सर्वोच्च अदालतको फैसलापश्चात् ब्युँतिएको एमाले २ जेठ २०७५ कै बिन्दुबाट सहमतिसाथ अगाडि बढ्ने निष्कर्षमा उनीहरू पुगेका छन्।
ओली समूहबाट नेता सुवास नेम्वाङ, विष्णु पौडेल, प्रदीप ज्ञवाली र नेपाल समूहबाट घनश्याम भुषाल, सरेन्द्र पाण्डे, गोकर्ण विष्ट, योगेश भट्टराईसहितका नेताले एकता जोगाउने विषयमा छलफल गरेका छन्। सहभागी एक नेताका अनुसार सोमबार रातिसम्म पार्टी विवाद समाधान र एकता विषयमा छलफल भएको छ।