सामाजिक कुसंस्कारका कारण विस्थापित जीवन बिताइरहेका बिटालुका अघिल्ला पुस्ता अन्याय नै सहेर बितेका छन्। हाल जीवित पुस्ताको मौलिक अधिकार रक्षार्थ उनीहरूको पहिचान कायम गरिदिनु राज्यको दायित्व हो।
२०६४ सालतिर एक अनुसन्धानका क्रममा सुर्खेत जाँदा नागरिकतामा ‘बिटालु’ थर लेखिएका केही व्यक्तिसँग भेट भयो। उनीहरूले दलित महिलासँग विवाह गरेका कारण आफूलाई बिटालु बनाइएको जानकारी दिए। त्यही दिनदेखि बिटालुहरूको ऐतिहासिक पृष्ठभूमि, पारिवारिक-सामाजिक सम्बन्ध, वर्तमान अवस्था र उनीहरू आफूलाई दलित वा गैरदलित के मान्छन् भन्नेबारे जिज्ञासा उत्पन्न भएको थियो।
ब्रिटिश एकेडेमीको सहयोग तथा अक्सफोर्ड विश्वविद्यालयकोे इन्स्टिच्यूट अफ सोसल एन्ड कल्चरल एन्थ्रोपोलोजीको नेतृत्वमा ‘मर्यादाको खोजीमा दलितः नेपालको सुदूरपश्चिममा राज्य, समाज र स्थानीय परिचालन’ शीर्षकको अनुसन्धान परियोजना अन्तर्गत दलित संलग्न अन्तरजातीय विवाह सम्बन्धी व्यवहार र नीतिको अध्ययन गर्ने प्रस्ताव आयो। र, दलित तथा गैरदलित अन्तरजातीय विवाहमा केन्द्रित भएर बिटालुहरूबारे अध्ययन शुरू गरें।
कानूनी व्यवस्था र सामाजिक प्रचलन
‘बिटालु’ कुनै जातजाति वा थरबोधक शब्द होइन। यो शब्दको निर्माण बिटुलोबाट भएको हो। नेपाल प्रज्ञा प्रतिष्ठानबाट प्रकाशित नेपाली बृहत् शब्दकोशमा बिटुलोको शाब्दिक अर्थ ‘अरूसँगको छुवाछूत वा लसपसमा परेको, उच्छिष्ट, चोखो नभएको, अशुद्ध, जुठो’ भनिएको छ। समाजमा पनि बिटालुलाई बिटुलोको अर्थमै बुझिन्छ। यस अनुसार कथित माथिल्लो जातको पुरुषले कथित तल्लो जातको महिलासँग विवाह गरेमा जुन जातको महिलासँग विवाह गरेको हो, सोही जातमा तल झार्ने गरिन्छ।