धन्न निषेधाज्ञा छ, धेरैले यो दृश्य हेर्नुपरेको छैन । नत्र, गौशाला तल रिङरोडमा रहेको वाग्मती पुलबाट देखिने पशुपति आर्यघाटका करिब दर्जन बढी घाटहरूमा निरन्तर जलिरहेको लास अनि ति घाटले नभ्याउने भएपछि इलेक्ट्रिक मुर्दाघरको पछाडि सेनाको सक्रियतामा कोभिड–१९ बाट मृत्यु वरण गरेकाको दर्जनौं लास एक तमास जलिरहेको दृश्यले सबैको मन खरानी हुन्थ्यो । बिचरा, आफ्ना गुमाएका सयौं परिवारजन त्यही पुलबाट लासहरूको भिडमा जलिरहेको आफ्नो प्रिय व्यक्तिको शरीर धुँवा बनेको दृश्य हेरेर अन्तिम श्रद्धाञ्जली अर्पण गर्दै अश्रुधारा बहाइरहेका हुन्छन् ।
वाग्मती नदीको पुलमा पुग्दा देखिने दृश्यले सबैको हृदय छिया छिया हुन्छ, एकपल्ट गला अवरुद्ध हुन्छ अनि नेपालीलाई यो पीडा किन पर्यो भगवान भनेर एकपल्ट पशुपतिनाथलाई सोध्छन् । तर, पीडाको पराकाष्ठा त पुलबाट थोरै माथि पो देखिन्छ, समयमै पुगिएको छ भने ।
वाग्मती पुलबाट विमानस्थलतर्फ जाँदा तिलगंगा आँखा अस्पतालको अगाडि गुहेश्वरीको जंगल छिर्ने कुनामा एउटा खाली ठाउँ छ । त्यो खुला स्थानमा साढे पाँच बजे पुग्ने हो भने तल पुलमा बसेर देखेको दुःख भन्दा बढी छाती पोल्छ । रोग लागेर बितेका भन्दा भोक लागेर खाना खोज्दै आएकाले लाइनमा बसेर एक भाँडा भातले आफ्नो आँत भर्न गरेको संघर्षले अत्यधिक छटपट् हुन्छ ।
ठिक समयमा लहर मिलेर बसे भात र तरकारी राखिएको एउटा ठिक्कको अल्मुनियम फ्वायलको भाँडा र प्लाष्टिकको कपमा दाल पाइन्छ । खाएपछि पानी पनि दिन्छन् खाना बाँड्न आउने मनकारी दिव्य आत्माहरूले ।