भक्तपुरको भेलुखेलस्थित ल्योसिंख्यमा इनारको पानी लिन आएकी महिला सानु श्रेष्ठ (नाम परिवर्तन) एक्लै टोलाउँदै थिइन्।
एकैछिनमा अर्की महिला पानी लिन इनार आइपुगिन्। सानुको अनुहार हेरेर 'के भयो?' भनी प्रश्न गरिन्।
‘काम हुँदा ठिक छु जस्तो लाग्छ। अरू बेला के हुन्छ, थाहा छैन। कमाई छैन। जग्गा जमिन छैन। सानो घर छ बालबच्चा छन्। कसरी दैनिकी गुजारा गर्ने?,’ सानुले चिन्ता पोखिन्।
कुराकानीका क्रममा सानुले गत वर्ष श्रीमानलाई कोरोना संक्रमण भएको र लामो समय अस्पताल बस्नु परेको व्यथा सुनाइन्। ‘साढे चार लाख रुपैयाँ सकियो। त्यो पनि ऋण तिर्नुछ। खै के गर्ने? अहिले पनि निषेधाज्ञा छ। काम छैन, सबै घरमै छौँ। अन्न सकिनै लाग्यो। बालबच्चालाई के खुवाउने? लकडाउन कहिले खुल्छ?’ उनले भनिन्, ‘कोरोना लागेर मानिसहरू मरिरहेको समाचार आइरहेछ, दिमागमा पनि त्यही कुरा खेलिरहन्छ, अनि के गर्ने-कसो गर्ने भनी सोच्दासोच्दै टाउको फुट्लाजस्तो हुन्छ।’
भक्तपुरको आदर्शमा डेरा गरी बस्ने रीता लामा (नाम परिवर्तन) काठमाडौंमा घरेलु सफाईकर्मीको काम गर्थिन्। कोरोना भाइरस संक्रमण नियन्त्रण र रोकथामका लागि गत बैशाख १६ गतेदेखि निषेधाज्ञा लागू भएसँगै उनको काम मात्र बन्द भएन, आम्दानीको एक मात्र स्रोत समेत बन्द भएको छ।
‘काठमाडौंमा गएर लुगा धुने र घर सरसफाइका काम गरी गुजारा चलाउँदै आएकी थिएँ,’ दुई बालबच्चाकी आमा रीताले भनिन्, ‘अहिले निषेधाज्ञामा काम र आम्दानी पनि छैन। भोलिका दिनमा बालबच्चालाई के खुवाउने भन्ने चिन्ताले सताउँछ र एकदम टाउको दुख्न थाल्छ।’
श्रीमान दुई वर्षअघि वैदेशिक रोजगारीका लागि कतार गएदेखि सम्पर्कमा नआएको रीताले बताइन्। ‘श्रीमान वैदेशिक रोजगारका लागि कतार गएको दुई वर्ष भैसक्यो,' रीताले भनिन्, 'विदेश गएदेखि न सम्पर्कमा आएका छन्, न पैसा नै पठाएका छन्। दुई सन्तानलाई कसरी पाल्ने भन्दै रुँदै कामको भीख माग्दै दैनिकी गुजार्नुपरेको छ।’
गतवर्ष कोरोना संक्रमित भई १९ दिन खरिपाटीस्थित क्वारेन्टिनमा बसेकी सुनिताको हालत पनि रीता र सानुको भन्दा कम छैन्। अहिलेपनि कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएकाले होम आइसोलेसन बसेकी सुनिता एकल महिला हुन्। उनका दुई छोरा छन्।