प्रदीप नेपाल
केही दिन पहिले उदयमान र इमान्दार नेता पशुपति चौलागाईंको निधन पनि कोरोनाकै कारण भएको थियो। त्यतिबेला मैले सामाजिक सञ्जालको फेसबुकमा लेखेको थिएँ – यो कोरोना पनि बाँच्नु पर्नेलाई लान्छ, मर्नु पर्ने तिर आँखै लाउँदैन। कुरो अहिले पनि त्यस्तै लेख्ने त्यस्तै वाक्य लेख्ने मौका पर्यो।
अस्ति बिहान फेसबुकको पातोमै पहिलो दुःखदायी खबर थियो – बान (ब्रोडकास्टिङ एशोसिएन अफ नेपाल) का चन्द्र न्यौपानेको कोरोनाका कारण दुःखदायी निधन भयो। स्तव्ध भएँ म। मलाई पत्यारै लागेन।
एउटा अटुट बन्धन हुन्छ राजनीतिक मित्रताको। त्यसको डोरो निकै बलियो हुँदो रहेछ। म थिएँ –सप्तकोशी एफ. एम.को संचालक समितिको अध्यक्ष। उहाँ हुनुहुन्थ्यो, रेडियोको डाइरेक्टर। म काठमाडौंमा बस्छु, सप्तकोशी एफ. एम. चलेको छ इटहरीमा।
रेडियो शुरु गर्दा साह्रै कष्टमा थियौं हामी। चन्द्रजीलाई व्यवस्थापक बनाएपछि नै हो रेडियो उकालो लागेको। अरू धेरै साथीको सहयोगी भूमिका छ। तर चन्द्रजीलाई अरूभन्दा धेरै जस दिनुपर्छ।
रेडियोको आफ्नै जग्गा र घर भयो। रेडियोले स्थायित्व पायो। पूर्वाञ्चलको प्रमुख रेडियो पनि भयो। पछिल्लो भेटमा उहाँले भन्नु भएको थियो, प्रेम दाइका अनुसार अब हामी ऋणमुक्त भयौं।