राजेन्द्र सर,
अक्षरहरूमा हामीलाई छाडेर, अझ भनौँ अक्षरहरूमा मात्र आफू बाँचेर तपाईंको यो महाप्रस्थानलाई मेरो ब्रह्मले पटक्कै पत्याउन सकेको छैन ! नपत्याए पनि, पत्याउन नमाने पनि यही अन्तिम सत्य त छ अहिले हाम्रा अगाडि ! तपाईंलाई औपचारिक श्रद्धासुमन लेख्न हात कामिरहेका बेला कसरी पोखूँ म तपाईंको विराट् व्यक्तित्वलाई ! हो, म स्तब्ध छु, निःशब्द छु !
इलामको क्याम्पस प्रमुखदेखि त्रिभुवन विश्वविद्यालयको प्राध्यापक र विभागीय प्रमुखसम्म, गोरखापत्र संस्थानको कार्यकारी अध्यक्षदेखि अनेक प्राज्ञिक सङ्घ संस्था र निकायका जिम्मेवारीपूर्ण अहम् भूमिकासम्म कहाँ–कहाँ सम्झुँ तपाईंलाई ! तपाईंले कोटेश्वरको सेतीओपी मार्गको एउटा घरलाई मात्र शून्य बनाउनुभएको हो र ? अहिले सिङ्गो साहित्यिक जगत् तपाईंको अभावमा शून्यता पालेर बसिरहेको छ। यति चाँडै तपाईंले महाप्रस्थान गर्नुहोला र निर्वाण प्राप्त गर्नुहोला भनेर मैले कल्पना पनि गरेको थिइनँ। प्राज्ञिक जगत्को उज्यालो नक्षत्र हराएको दिन आज साँच्चै अँध्यारो–अँध्यारो छ, चारैतिर राजेन्द्र सर !
पाँचथरमा २००२ सालमा आँखा खोलेर उदाएको रासु, विरोचन, विरूपाक्ष छयहत्तर वर्षमा काठमाडौँको यो महामारीको ताण्डव–भुमरीमा परेर सधैँका लागि अस्ताएको छ। साढे पाँच दशकको निरन्तर प्राज्ञिक साहित्यिक यात्रामा लागिरहनुभयो, घोटिइरहनुभयो। तपाईंको निरन्तर साधना र तपस्याको साक्षी म पनि त छु नि।
०२४ को ‘समर्पण’ पत्रिकामा ‘युवकको उद्देश्य’ निबन्ध प्रकाशित भएपछि थालिएको साहित्ययात्रामा अस्तिसम्म पनि लेख्दै हुनुहुन्थ्यो तपाईं। साढे पाँच दशकको यात्रामा लिखित र सम्पादित गरी शताधिक कृतिमा मात्र तपाईंको उपस्थिति देख्न विवश हामी तपाईंलाई आत्मैदेखिको श्रद्धाका दुई थोपा आँसुबाहेक के नै दिन सक्छौँ र अब !
कुन विधामा तपाईंको कलम चलेन र राजेन्द्र
सर ! ‘सुद्युम्न’, ‘स्वप्न संसार’ र ‘धितोकोख’ उपन्यासमा पौराणिक आख्यान र दर्शनदेखि सरोगेट मदर हुन विवश नारीका कथा र व्यथासम्मका कुरालाई पनि तपाईंको कलमले वाणी दिएको छ। तपाईंले आफ्नो उपन्यासमा खिचेको पुराणदेखि आजको समाजसम्मका विम्बचित्रको तेरिज कति घतलाग्दो छ हगि ?
नेपाली निबन्धमा त तपाईंलाई मैले धवलागिरि र नीलगिरिभन्दा कहिल्यै सानो देखिनँ। ‘खाली सिसी पुराना कागज’ केवल खाली सिसी र पुराना कागजमात्र पनि त थिएनन् नि। सीमान्तीकृतहरूका पीडा र कर्मशीलताका साथै अनेक सामाजिक यथार्थ र वर्तमानका कुरूप असङ्गतिप्रति तपाईंको व्यङ्ग्य, तपाईंको यथार्थचित्र अति नै र साँच्चै मीठो लाग्यो भनेर सायद अब कोही भन्न आउने छैन तपाईंसँग।