कोराना सङ्क्रमितका शव व्यवस्थापन सहज

Symbolic photo
Symbolic photo

कोराना सङ्क्रमणबाट अकालमा ज्यान गुमाएका सङ्क्रमितको शव व्यवस्थापनलाई सहज बनाइएको छ।

भरतपुर महानगरपालिका,जिल्ला प्रशासन कार्यालय र कालिवहादुर गणका समन्वयमा  शव व्यवस्थापन हुँदै आएको छ। चितवन सहित छिमेकी जिल्लाका सङ्क्रमितको यहाँका विभिन्न अस्पतालमा उपचार हुन्छ।

महानगरपालिकाको आपत्कालीन कार्य सञ्चालन केन्द्रका प्रमुख बालकृष्ण थपलियाका अनुसार यही जेठ ६ गतेदेखि  हालसम्म  ७४ सङक्रमतिका शव व्यवस्थापन गरिएको छ। तीमध्ये चार शवको परिवारले भारलाग्ने भन्दै आफ्नै खर्चमा व्यवस्थापन गरेका छन्। ती मध्ये दुई शव गाढिएको छ।

महानगरपालिका प्रमुख रेनु दाहालका अनुसार शव वाहन, दाउरा र खाल्डो खन्नका लागि एक्साभेटरको व्यवस्थापनमा महानगरले सहयोग गर्दै आएको छ। लायन्स क्लवले थप एक शववाहन उपलब्ध गराएको छ।

संघीय सरकारले शवको व्यवस्थापन गर्ने भनिएको भए पनि तत्काल वजेटको नहुँदा महानगरपालिकाले खर्च गरेको उनले जानकारी दिइन्।यस अघि पनि एक्साभेटर भने महानगरपालिकाले उपलब्ध गराउँदै आएको थियो। वागेश्वरी स्थित नारायणी किनारमा शव व्यवस्थापन गरिदैं आइएको छ।

प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेले महानगरपालिका, कालिवहादुर गण र लायन्सको सहकार्यमा शव व्यवस्थापन हुँदै आएको जानकारी दिए।

शववाहन, दाउरा, खाल्डो खन्ने एक्साभेटर र शवको ओसारपसारमा ती निकायले समन्वयात्मक क सहयोग गर्दैआएका छन्। खाल्डोमा नपुरेर जलाउनेले नजिकै रहेको वागेश्वरीवाट नदी किनारसम्म दाउरा लैजाने, चित्ता बनाउने र जलाउने काम भने मृतकका परिवारले आफ्नो संस्कार अनुसार गर्दै आएका छन्।

गणपति विज्ञानराज खनालका अनुसार हाल सम्म ३ सय ४०  शवको व्यवस्थापनमा सेनाले सहयोग गरिसकेको छ। जिल्लाका अस्पतालमा ४ सय ८६ को मृत्यु भएकोमा १ सय ४६ को शव आफन्तले बुझेका हुन। उहाँले सबैको सहकार्यमा शव व्यवस्थापन सहज बनेको बताए।

शव विहान ९ बजेदेखि साँझ ५ बजसम्म व्यवस्थापन गरिदैं आएको छ। होम आइसोलेशनमा मृत्यु भएकाको शवको व्यवस्थापनका लागि शववाहन पठाउने गरिएको छ।

गणपति खनालका अनुसार घरमा शव उठाउँने व्यक्ति नभएका ठाउँमा सेना आँफै पुग्ने गरेको छ। वरिष्ठ पत्रकार ईश्वर जोशीले सङ्क्रमणबाट मृत्युभएका आफ्नो दाजुको शव व्यवस्थापनमा समस्या नआएको जानकारी दिए।रासस

प्रकाशित मिति: : 2021-05-28 19:16:00

प्रतिकृया दिनुहोस्