पत्रकार पक्राउ गर्न विमान तल झार्ने बेलारुसी राष्ट्रपतिको विश्वव्यापी आलोचना

बेलारुसमा सरकारको आलोचना गर्ने एक पत्रकार रोमन प्रोत्साविचलाई पक्राउ गर्न विमानलाई जबरजस्ती ल्याण्डिङ गराएको अनौठो घटनाको विश्वभरिबाट विरोध सुरु भएको छ। केही देशले विरोध स्वरूप बेलारुस जाने आफ्नो नियमित उडान स्थगित गरेका छन्। 

यो घटनामा युरोपका २७ देशले एकै पल्ट बेलारुसमाथि प्रतिबन्ध लगाउने घोषणा गरेका छन्। यसको अमेरिकाले स्वागत गरिसकेको छ। ब्रसेल्समा भएको युरोपेली युनियनको बैठकमा यो महत्वपूर्ण निर्णय भएको हो। 

इयुका नेताहरूले युरोपेली देशलाई बेलारुस जाने सबै विमानको उडान स्थगित गर्न निर्देशन दिएका थिए। यस्तै, बेलारुसको विमानलाई पनि इयुको अन्य देशमा उडान अनुमति रद्द गरिएको छ।

यसमा एयर फ्रान्स, केएलएम, फिनएयर, लफ्तहांसा र अस्ट्रियन विमान समावेश छन्। यो घटनाले बेलारुस एक्लिएको अनुभव गरिएको छ। 

बेलारुसका राष्ट्रपति अलेक्जेण्डर लुकासेन्कोविरूद्ध कठोर कार्यवाही गर्ने क्रममा पहिले नै पश्चिमा देशले यो देशमा प्रतिबन्ध लगाइसकेका छन्। उनीविरूद्ध विरोध प्रदर्शनलाई क्रुरतापूर्वक दबाउने र मानव अधिकार उल्लङ्घनका लागि प्रतिबन्ध लगाइएको थियो। 

युरोपको यो कार्यबाट राष्ट्रपति लुकासेन्कोलाई खासै कुनै असर परेको देखिदैन। उनलाई रुसी राष्ट्रपति ब्लादिमिर पुटिनको बलियो समर्थन प्राप्त छ। पत्रकार रोमनलाई आतंकवादीलाई जस्तै व्यवहार गरेर उनी उडिरहेको विमानलाई मिन्स्क एयरपोर्टमा झार्न लगाइएको थियो। 

रोमनका साथी मोरियस रुत्कास्कासले घटनाको विषयमा जानकारी दिँदै भनेका थिए, ‘जतिबेला पाइलटले विमान मिन्स्क एयरपोर्टमा झार्न लागेको बताए। रोमन आत्तिएका थिए।’

प्रकाशित मिति: : 2021-05-27 14:10:00

प्रतिकृया दिनुहोस्