बेनी बजारस्थित वीरेन्द्रचोक निवासी हिराकुमारी शर्मा (६१) आफ्नो पाँच तले घरको सिरानको कोठामा १० दिनसम्म होम आइसोलेशनमा बसिन्।
स्वाब परीक्षण गर्दा आफू संक्रमित रहेको थाहा भएपछि उनी वैशाख २२ गतेदेखि जेठ १ गतेसम्म होम आइसोलेसनमा बसेकी थिइन्। शर्मालाई परिवारका सदस्य, आफन्त, इष्टमित्र र अस्पतालका चिकित्सकहरूले फोन गरेर वा प्रत्यक्ष भेटेर यति धेरै माया र हौसला दिए कि उनलाई आफू बिरामी भएको महसुस नै भएन।
'म सबैकी प्यारी मान्छे रहेछु भन्ने कुरा कोरोनाले बुझाइदियो.' यस सम्वाददातासँग टेलिफोनमा कुरा गर्ने क्रममा हर्षविभोर हुँदै शर्माले भनिन्, ‘परिवार, आफन्त, इष्टमित्र र भगवानरूपी डाक्टरहरूको शुभेच्छाअघि कोरोना टिक्न सकेन, १० दिनमै भाग्यो।’
उनले थपिन्, ‘बिरामी भएर ओछ्यानमा परेपछि मनले नानाभाँती कुरा सोच्न थाल्दोरहेछ, त्यतिबेला परिवार र आफन्तको साथ, सहयोग, माया, हौसला र समयसमयमा औषधी तथा पोषणयुक्त खानेकुरा पाएपछि रोगलाई जित्न सकिँदोरहेछ।’
विज्ञान विषयमा स्नातकोत्तर (एमएससी) गरेका बेनी नगरपालिका-२, बगरफाँटका हरि घिमिरेको अनुभव पनि हिराकुमारी शर्माको अनुभवसँग ठ्याक्कै मेल खान्छ। सामान्य खोकी लागेर स्वाब परीक्षण गराउँदा कोरोना पुष्टि भएपछि गत वैशाख १८ गतेदेखि घिमिरे पनि होम आइसोलेशनमा बसे।
त्यसअघिसम्म बगरफाँट गाउँमा कसैले पनि स्वाब परीक्षण गराएका थिएनन्। बेनी अस्पतालमा स्वाब दिएर घर आएपछि उनी घरमै एकान्तवास बसे। फेसबुकमा स्टाटस पोष्ट गर्दै आफूले स्वाब दिएर आएको र रिपोर्ट नआउन्जेलसम्म कसैसँग पनि सम्पर्कमा नआउने बताए।