चेतन कार्की गाउँघरमा प्रचलित शिष्ट शैलीको दोहोरीलाई लोकगीतको उच्च विधा मान्थे। गीतको शब्द भुइँमा खस्न नपाउँदै गाउँका अपठित जनले उही लय, टेम्पो, मिठास र शिष्टता कायम गरेर प्रत्युत्तर दिनसक्नु चानचुने कुरा होइन भन्ने उनको बुझाइ थियो।

उनी डुङ्गा चलाउने मानिसले गाएका गीत सुन्थे। बाटुलेचौरका गन्धर्वहरूको शब्द र सुरमा ध्यानमग्न हुन्थे। गीतको लय र मर्मको गहिराइमा डुबेर दंग पर्थे, तिनलाई मनमनै गुनेर भावुक हुन्थे। बाल्यकालदेखि नै लोकगीतप्रति रहेको उनको रुचि थप बाक्लिँदै गयो।
फेवाताल र आसपासको परिवेशमा दैनिक उठबसमा उनले त्यतैका विम्ब टिपेर गीत बुन्न थाले। फेवाताल, माछा र स्थानीय हर्पन खोलासँग जोडेर उनले बूढो लोग्ने व्यहोर्न विवश ग्रामीण बालाको मनोविज्ञानलाई गीतमा समेटे–
फेवातालको कत्लेमाछा हर्पन खोला धाउँछ
बूढो पोइको ओछ्यान लाउन मन मरेर आउँछ।
चेतनको अर्को गीत पनि तालसँगै सम्बन्धित छ। तालको किनारमा पाइने निङ्ग्रो (निउरो) र दिललाई जोडेर गीत रचे, जुन आफ्नो समयमा निकै लोकप्रिय थियो।