संक्रमितको शव व्यवस्थापन : जो पटक-पटक घाट पुग्छन् र मृत्युलाई नियाल्छन्!

नेपाल खबर

काठमाडाैं

कोभिडले गतवर्ष जेठ २६ गते स्याङ्जा वालिङका ६० वर्षीय पुरुषको ज्यान गयो। पश्चिमाञ्चल स्वास्थ्य विज्ञान प्रतिष्ठानमा हल्लीखल्ली मच्चियो। उनको शव व्यवस्थापन कसरी र कहाँ गर्ने भन्ने निक्र्यौल हुन समय लाग्यो। अन्तत: नेपाली सेना अगाडि सर्‍यो। स्थानीयको विरोधकै बीच पोखराकै मणिपाल तल उनको शरीर माटोमा मिसाइयो।

‘त्यो बेला हामीलाई पनि डर नै थियो, हामी शव लिन जाँदा सबै डराइरहेका थिए’, पहिलो शव व्यवस्थापनमा खटिएका भगवती दल गणका अधिकृतले एक कार्यक्रममा भनेका थिए, ‘सेनामा ड्युटी पहिलो प्राथमिकता हो तर मनभित्र आफूलाई पनि संक्रमण हुन्छ कि भन्ने चाहिँ थियो नै।’

उनका अनुसार पीपीईले गुम्सिएको बेला पनि मनमा मृतकमा आफन्तले आफ्नो रितिरिवाज अनुसार अन्तिम कर्म गरुन् भन्ने नै हुन्छ रे।

‘हामी मृतकका आफन्तले आफ्नो संस्कार अनुसार अन्तिम बिदाई गरुन् भन्ने हुन्छ’, उनले भने, ‘हामीलाई निर्देशन पनि छ, हामी आफन्तलाई सुरक्षित भएर अन्तिम बिदाइको अवसर दिन्छौँ, हामीले पनि सलामी नै दिएर आत्माको चीरशान्तिको कामना गर्छौँ।’

कोभिडका कारण ज्यान गुमाएकाहरुको शव व्यवस्थापनसम्बन्धी संक्षिप्त कार्यविधि (दोस्रो संशोधन), २०७७ ले कोरोना संक्रमणबाट मृत्यु भएकाहरूको शव व्यवस्थापन गर्ने जिम्मा नेपाली सेनालाई दियो। त्यसयता नेपाली सेनाले मृतकको शव उच्च सम्मानका साथ व्यवस्थापन गर्दै आएको छ।

प्रकाशित मिति: : 2021-05-23 19:51:00

प्रतिकृया दिनुहोस्