नक्कली स्यानिटाइजर उद्योगमा प्रहरीको छापा, बजारमा विषाक्त स्यानिटाइजर छ्याप्छ्याप्ती (भिडियाेसहित)

शनि शाक्य

काठमाडौं

मानव स्वास्थ्यका हिसाबले प्रयोग नै गर्न निमल्ने झोल पदार्थ ‘स्यानिटाइजर’ का नाममा बजारमा छ्याप छ्याप्ती बढेपछि काठमाडौं प्रहरीले काठमाडौंको बालाजु औद्योगिक क्षेत्रस्थित एउटा ठुलो कारखानामा आइतबार छापा मारेको छ।

उक्त कारखानाबाट प्रहरीले ठूलो परिमाणमा प्रयोग नै गर्न निमल्ने झोल पदार्थ ‘स्यानिटाइजर’ का नाममा प्याकिङ गरेर बजारमा पठाउन लागेको अवस्थामा प्रहरीले बरामद गरेको छ। 

अहिले बजारमा ‘स्यानिटाइजर’का नाममा विभिन्न प्रकारका झोल पदार्थ छ्याप्छ्याप्ती बिक्रीवितरण हुने गरेको छ। त्यस्ता जनगुनासो बढ्न थालेपछि प्रहरीले नक्कली ‘स्यानिटाइजर’ कम्पनीमा निगरानी बढाएको छ।

महानगरीय प्रहरी परिसर, काठमाडौँको टोलीले आइतबार बालाजु औद्योगिक क्षेत्रभित्र रहेको उत्सव डिष्ट्रिलरीको नाममा भरखरै दर्ता भएको ‘स्यानिटाइजर’ उत्पादक उद्योगमा छापा मारेको थियो। 

उद्योगले स्यानिटाइजरमा प्रयोग गर्न नमिल्ने विषाक्त केमिकल हालेर ‘स्यानिटाइजर’ उत्पादन गर्नेगरेको प्रहरी अनुसन्धानबाट खुलेको छ।

‘स्यानिटाइजरमा मिथाइल प्रयोग गर्न पाइँदैन तर यहाँ उत्पादित ‘स्यानिटाइजर’ मा ५० प्रतिशतभन्दा बढी मिथाइल प्रयोग गरेको पाइयो’, काठमाडौं प्रहरी प्रवक्ता एसपी रमेश बस्नेतले भने।

प्रहरीले नक्कली ‘स्यानिटाइजर’ बनाउने कम्पनी कपिलवस्तुका कमल अग्रवालको नाममा दर्ता भएको जनाएको छ। प्रहरीले नक्कली ‘स्यानिटाइजर’ बनाउने कमल अग्रवाल र राकेश अग्रवाललाई नियन्त्रणमा लिएको छ।

उनीहरूले उद्योगभित्र नै ‘स्यानिटाइजर’ बनाएर प्याकिङ गर्ने गरेको देखिएको छ। ‘स्यानिटाइजर’ को बट्टामा भने अन्य आवश्यक पर्ने केमिकलको मात्रा उल्लेख गरेर मानिसलाई झुक्याउने गरेको देखिएको छ।

अग्रवालले पहिले ‘कस्मेटिक’ उत्पादन गर्ने गर्थे तर निषेधाज्ञा सुरु भएदेखि ‘स्यानिटाइजर’ उत्पादन गर्न सुरु गरेको बयान प्रहरीमा दिएका छन्।उनीहरुले दैनिक एक हजारभन्दा लिटरभन्दा बढी स्यानिटाइजर उत्पादन गरेर बजारमा पठाउने गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।

काठमाडौं प्रहरीले यसअघि पनि नक्कली ‘स्यानिटाइजर’ तथा गुणस्तरहीन मास्क लगायतका स्वास्थ्य सामग्रीको अनुगमन गरी उपभोक्ता ठग्नेलाई कारवाही चलाउँदैआएको छ।


निषेधाज्ञाकाे अनुगमन


वीर अस्पतालकी नर्सको कोरोना उपचारको अनुभव

जब अक्सिजन सकिएर ‘साइरन’ बज्छ, मेरो मुटु काम्न थाल्छ (भिडियाेसहित)

प्रकाशित मिति: : 2021-05-23 18:24:00

प्रतिकृया दिनुहोस्