एमालेद्वारा नेपाल, खनाल र रावलसहित विघटित प्रतिनिधिसभाका ११ सदस्यसँग स्पष्टीकरण माग, निस्कासन गर्ने तयारी (नामसहित)

Photo - RSS
Photo - RSS

नेकपा (एमाले) स्थायी कमिटी बैठकले पूर्वप्रधानमन्त्रीद्वय माधव नेपाल, झलनाथ खनाल तथा पूर्व पार्टी उपाध्यक्ष भीम रावलसमेत पार्टीका ११ निवर्तमान सांसदलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको छ। नेपाल, रावलसहित केही नेतालाई निस्कासन गर्ने एमालेको तयारी छ।

नेपाल, खनाल र रावलबाहेक स्पष्टीकरण सोधिएका अरु आठ जना चाहिँ  निवर्तमान प्रतिनिधिसभा समानुपातिकतर्फका सदस्य छन्।

प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको उक्त बैठकले आफ्नो दलका अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्रीबाट हटाउन विपक्षीसंँग मिलेर हस्ताक्षर संकलन गरी राष्ट्रपतिसमक्ष पुर्‍याउन संलग्न भएको आरोप उनीहरुलाई लगाएको छ।

एमालेका प्रवक्ता प्रदीप ज्ञवालीले पार्टी वरिष्ठ नेताद्वय नेपाल र खनालसहित भीम रावल, कल्याणी खड्का, रामकुमारी झाँक्री, सरला यादव, मुकुन्द नेपाल, पुष्पाकुमारी कर्ण, कलिला खान, नीरादेवी जैरु र लक्ष्मीकुमारी चौधरीसँग स्पष्टीकरण सोध्ने निर्णय गरिएको बैठकपछि जानकारी दिए।

स्पष्टीकरणमा जवाफ जेठ १० गतेभित्र पेश गर्न भनिएको छ। जवाफका आधारमा पार्टीले थप निर्णय गर्ने पनि उनले बताए । ज्ञवालीले कम्युनिष्ट पार्टीलाई कमजोर बनाउन र आफ्नो सरकार गिराउन विपक्षीसँग गरिएको साँठगाँठबारे गम्भीरतापूर्वक छलफल गरिएको बताए।

नेता नेपालकै अगुवाईमा दुई दिनअघिमात्र राष्ट्रियसभा उपचुनावमा एमाले उम्मेद्वार रामबहादुर थापा बादललाई हराइएको थियो । त्यसको एक दिनपछि मात्र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा सिफारिश गर्न एमाले नेपाल पक्षका २६ सांसदले हस्ताक्षर गरेका थिए।

'आफ्नो पार्टीका प्रधानमन्त्रीलाई हराएर त्यसका ठाउँमा कांग्रेसका सभापति  देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर लिएर जाने कुरा अनुमान नै गर्न नसकिने  थियो,' उनले भने, 'देशभरि पार्टी एकताका लागि आवाज उठिरहेको छ। कार्यदलले काम गरिरहेको थियो  तर फेरि आफ्नै प्रधानमन्त्रीविरुद्ध पार्टीका साथीहरुले हस्ताक्षर गर्नुभयो।'

यसअघि पनि पार्टीका केही नेतासँग स्पष्टीकरण सोधिएको थियो। तीमध्ये नेपाल, रावल, घनश्याम भुसाल र सुरेन्द्रप्रसाद पाण्डेलाई कारवाही गरिएकामा केही दिनअघि भएको स्थायी कमिटी बैठकले फुकुवा गरेको थियो।

पार्टी कार्यदलले  समस्या समाधान गरिरहेका अवस्थामा पार्टीकै नेताका कारण फेरि समस्या आएको उनको भनाइ थियो। उनले गत वैशाख २७ गते संसद्मा अनुपस्थित भएर केही साथीहरुले जुन गल्ती गरे फेरि त्यो गर्नुहुन्न भन्ने प्रधानमन्त्रीलाई लागेको उनले बताए।  पार्टीले कोरोना भाइरसविरुद्धको लडाइँमा आफ्नो ध्यान केन्द्रित गर्ने निर्णय पनि गरेको छ।

लिखित स्पष्टीकरण सोधिएका विघटित संसदका सांसद :

१ःझलनाथ खनाल

२ः माधवकुमार नेपाल

३ः भीमवहादुर रावल

४ः मुकुन्द न्यौपाने

५ः रामकुमारी झाँक्री

६ः सरला यादव

७ः पुष्पाकुमारी कर्ण

८ः कलिला खान

९ः निरादेवी जैरु

१०ः लक्ष्मी कुमारी चौधरी

११ः कल्याणी खड्का

प्रकाशित मिति: : 2021-05-22 19:53:00

प्रतिकृया दिनुहोस्