प्रत्येक दिनको मृत्युदर दुई सय नाघिराखेको बेला जो पनि संक्रमित हुन्छ भने, उसले सोच्ने कुरा एउटै हुन्छ- मृत्यु।
यो मृत्युको सोच पनि आफ्नो शरीरको अवस्था अनुसार फरक सोचिने रहेछ। पहिलो दुई दिन भोली त निको हुन्छ भन्ने लागेर नै असैह्य पीडा पनि खपिन्छ, तर तेस्रो दिनदेखि शरीरमा इनर्जीको मात्रा शून्य हुँदा अलि फरक सोच आउन थाल्छ। सायद अब, बाँचिन्न कि भनेर !
सबैले भन्ने एउटा सामान्य कुरा के हो भने, केही पनि हुन्न। मनोबल उच्च राख्नपर्छ। खास तिनीहरूलाई थाहा हुँदैन कि, त्यही मनोबल पनि उच्च राख्नलाई सोच्ने सम्मको सामर्थ्य हुँदैन शरीरमा। त्यतिसम्म कमजोर भइन्छ, भन्ने कुरा।
वास्तवमै कोरोना हो के ? नलागेसम्म महसुस गर्न सायद कसैले सक्दैन र नसकिने नै रहेछ। आँखै अगाडि कोरोना संक्रमित छटपटाउदा पनि पत्यार नलाग्न सक्छ। मजाक लाग्न सक्छ। जुन मलाई पनि लागेको थियो। म आफूले पनि आज पत्याउँदै छु। जब कि म आफै आज संक्रमणको १३औं दिनमा छु।
लगातार दुई दिन शरीरलाई चिसो लाग्नु अनि खप्नै र छुट्याउनै नसक्ने गरि शरिर दुख्नु(खाईनु)। यो भैराख्दा जो कोहीले पनि कोरोना होला भनेर सोच्नै सकिदैन। त्यसपछिका बाँकी छ दिन मा मर्नै स्थितिसम्म पुगीने रहेछ। तेर्सो दिनबाट महसुस हुन थाल्छ, अहो कोरोना लाग्यो क्याहो !
लगातार शरीरको अनौठो दुखाई, नाक पोल्नु, टाउको हल्लाउँदा पुरा ब्रह्माण्ड हल्लिएझैं लाग्नु, आँखाका नानी अनि परेला सुन्निएर आँखा खोल्नै नसक्नु, मेरो घाँटी मैसँग त छ नी भनेर पक्का गर्न छाम्न नै पर्नै जस्तो, सुन्निए जस्तो, ताते जस्तो अनि चर्कै जस्तो।
उपाए एउटै के भेटें भने, स्वास्थ्यकर्मीको सल्लाह अनुरूपको औषधि लिने अनि चुपचाप दिन पर्खिने ८, १०,१ २ अनि कसैलाई १४ दिन सम्म पनि।
यो सब भैराख्दा खप्न यति मुस्किल हुने रहेछ कि, अरूबेला त्यो कल्पनाभन्दा बाहिरको कुरा मृत्यु पनि झलझली याद आउने। आफ्नो, आफू मार्फत सर्ने आफ्ना आफन्तको, अनि आईसियू र भेन्टीलेटरमा मृत्युसँग जुधिरहेका संक्रमितहरूको।
साँच्चै यतिबेला त्यति टाढा लाग्दैन, मृत्यु।
एक चोटि कल्पना गर्नुस्- मृत्यु, न कसैले छुन मिल्ने न अन्तिममा कसैको हातबाट केही पिउन मिल्ने, न आफन्तलाई भेट्न मिल्ने।
मान्छे मर्दा पनि केही भएको छैन जस्तो प्रतिक्रिया दिनपर्ने, यो माहामारीको अवस्थामा। साँच्ची, हामीले सोचेभन्दा फरक झ सोच्नै नसक्ने खालको परिणाम तेर्साइदिन्छ, आँखै अगाडि कोरोनाले।
यो अवस्था पार नगरेकाहरूको लागि यसबाट टाढा रहने एउटै उत्तम उपाए के हो भने तपाईको सामु जो छ, बुवा-आमा, दाजु-भाई, श्रीमान-श्रीमती, चाहे जो होस। हो, त्यो मान्छेसँग नै कोरोना छ भनेर सम्झिनुस्। तपाई कोरोनाबाट धेरै टाढा रहने पक्का छ।
आफूबाट अरूलाई नसार्नु नै सबैभन्दा ठुलो धर्म हो जस्तो लाग्छ। तपाईले जित्नुभो भन्दैमा तपाई सामुन्नेको अर्कोले जित्ने ग्यारेन्टी नहुन पनी सक्छ।
एकले अर्कोलाई संक्रमित देख्ने कोशिश गरौं। बाँकी साबधानी आफै अपनाइने छ, ढुक्क हुनुस्। जीवन अमुल्य छ नै, सानो लापरवाहीले मूल्यहिन हुन सक्छ।
एक जना संक्रमितलाई देख्दा मात्रै पनि हामी भाग्छौं नै, तर दिनानुदिन सयौं पुष्टि नै भएका कोरोना संक्रमितको जीवन जोगाउन रात-दिन आफ्नो ज्यानको विल्कुलै प्रवाह नगरी अहोरात्र खटिने सेतो पहिरनमा सजिएका अर्का भगवानको हिम्मत र सेवालाई साँचिक्कै सलाम, जसले गर्दा सयौंले जीवन पाइरहेका छन्। आफ्नो ज्यान गुमाएर अरूको जीवन बचाउनुभन्दा ठूलो अर्काे कुनै धर्म हुन्छ जस्तो मलाई लाग्दैन।
त्यसैले आउनुहोस्, कोरोनालाई बिल्कुलै खेलाचीं नसम्झी कोरोनाको चेनलाई ब्रेक गरौ। तपाई-हामीसँगै तिनी अहोरात्र मानव जीवन र कोरोनाको युद्धमा खटिएका सेतो कोट लगाउने भगवानलाई समेत आराम गर्न दिउँ।