संरक्षकबाटै असुरक्षित संविधान

संविधानको संरक्षण मानिएकी राष्ट्रपतिबाट फेरि एकपटक संविधानमाथि हमला भएको छ।

प्रधानमन्त्रीले राजीनामा दिएमा वा विश्वास÷अविश्वासको मतबाट पदमुक्त भएमा नयाँ सरकार गठनको प्रक्रिया सुरु हुने संवैधानिक व्यवस्था छ। तर, प्रधानमन्त्रीको सिफारिस भन्दै उनले नयाँ सरकार गठनका लागि दलहरूलाई २१ घन्टाको म्याद दिएकी छिन्।  

व्यक्ति विशेषको कुर्सीका लागि संविधानको कुल्चिएको भन्दै संविधानविद् र प्रतिपक्षी राजनीतिक दलहरूले आपत्ति व्यक्त गरेका छन्। उनीहरूले असंवैधानिक कदमविरुद्ध राजनतिक र कानुनी प्रतिवाद गर्ने स्पष्ट पारेका छन्।

दलहरूलाई २१ घन्टाको म्याद दिए पनि प्रधानमन्त्री केपी ओलीलाई तत्कालै पुनर्नियुक्ति दिलाउन शीतलनिवासमा बिहीबार मध्यरातसम्म भेटघाट भएका छन्। बालुवाटारमा महन्थ ठाकुर र राजेन्द्र महतोसँग छलफल गरेपछि उनीहरूलाई लिएर प्रधानमन्त्री ओली राष्ट्रपतिनिवास पुगेका थिए। 

बालुवाटारमा भएको छलफलमा नयाँ सरकार गठनका लागि सहमतिसमेत भएको छ। ‘नयाँ सरकार गठनका लागि प्रधानमन्त्री र जसपाका नेता महन्थ ठाकुर र राजेन्द्र महतोबीच छलफल भएको छ, छलफल सकारात्मक भएको छ,’ जसपा नेता मनीष सुमनले भने। 

राष्ट्रपति भण्डारीले संविधानको नयाँ सरकार गठनका लागि आह्वान गरेको तीन घन्टाभित्रै उनीहरू राष्ट्रपतिनिवास पुगेका थिए। ठाकुर र महतो पक्षले समर्थन नगरेसम्म विपक्षी गठबन्धन अपूरो हुन्छ। उनीहरूले समर्थन गरेमा ओली नेतृत्वमा फेरि सरकार बन्नेछ। 

प्रकाशित मिति: : 2021-05-21 05:30:00

प्रतिकृया दिनुहोस्