Exclusive : कोभिड अध्यादेशमा स्वास्थ्य संकटकालको व्यवस्था, अटेर गर्नेलाई एक वर्षसम्म कैद

सरकारले चाहे सबै अस्पताललाई नियन्त्रण गर्न सक्ने

लोकान्तर

काठमाडाैं

राष्ट्रपति विद्यादेवी भण्डारीले कोभिड -१९ संकट व्यवस्थापन अध्यादेश, २०७८ आज जारी गरेकी छन् । मन्त्रिपरिषदको सोमबार बसेको बैठकबाट उक्त निर्णय गरिएको थियो।

कानून, न्याय तथा संसदीय मामिला मन्त्री लीलानाथ श्रेष्ठका अनुसार कोभिड संकट व्यवस्थापन गर्नका लागि विभिन्न प्रावधान राखिएको हो। उक्त अध्यादेशमा कोभिड-१९ आपतकाल घोषणा गर्न सकिने प्रावधान राखिएको छ। ‘यस्तो आपतकाल घोषणा गरे पछि जुनसुकै उद्योग,कलकारखाना, घर, भवन पनि सरकारले लिन सक्छ,’ मन्त्री श्रेष्ठले लोकान्तरसँग भने,‘त्यस पछि बन्द गर्न वा नियन्त्रण गर्न नियन्त्रित रुपमा संचालन गर्न आदेश समेत दिन सक्नेछ।’

पहिले केन्द्रीय कोभिड संकट व्यवस्थापन र मन्त्रिपरिषदले गर्ने आदेश जस्तै आपतकाल घोषणा गर्ने कमिटीले त्यस्तो आदेश दिन सक्ने कुरा अध्यादेशमा राखिएको उनले बताए। ‘त्यसको निर्देशक कमिटीमा सम्माननीय प्रधानमन्त्रीज्यू, उपप्रधानमन्त्री, स्वास्थ्य मन्त्री, गृह मन्त्री, उद्योग मन्त्री, परराष्ट्र मन्त्री, मुख्य सचिव, प्रधानसेनापति रहनुहुनेछ,’ मन्त्री श्रेष्ठले थपे,‘त्यस निर्देशक कमिटीले प्रतिकार्य अधिकारी पनि मुकरर गर्न सक्नेछ।’

कोभिड-१९ को रोकथाम,नियन्त्रण, र उपचारको लागि नेपाल सरकारले सम्बन्धित प्रमुख जिल्ला अधिकारीलाई  प्रतिकार्य अधिकारी तोक्न सक्नेछ। 

त्यस्तै कोभिड-१९ युनिफाइड केन्द्रीय अस्पताल संचालन गर्ने प्रावधान पनि अध्यादेशमा राखिएको छ। संक्रमणको निदान, उपचार काम एकीकृत रुपमा संचालन गर्न वीर अस्पताल कोभिड-१९ युनिफाइड केन्द्रीय अस्पतालको रुपमा  रहने उल्लेख छ।

प्रकाशित मिति: : 2021-05-20 21:52:00

प्रतिकृया दिनुहोस्