‘लमहाें ने खता कि थी, सदियों ने सजा पाइ है’
(कसैको केही सेकेन्डको गल्तीले हजारौँ वर्षसम्म सजाय भोग्नुपर्याे ।) – मलाई यी शब्दहरू याद आइरहेछन् । शब्दहरू हिन्दी छन्, तर अहिलेको नेपालको विवशता, दुुःख, मानसिक तनाव र आँसुु देखेर लाग्छ, यो हामीलाई नै इंगित गरेर भनिएको हो । राजनीतिक नेताहरूले एक सेकेन्ड मनपरी गर्छन् वा बोल्छन् र हजारौँ नेपालीले लामो समय दुःख पाउँछन् ।
पाँच हजारभन्दा धेरै मानिसको कोरोना र कोरोनासिर्जत जटिलताबाट मृत्यु भएपछि ओली बालाई ज्ञान फुरेको छ– ‘मैले कोरोना भनेको केही होइन, नेपालीको रोगसँग लड्ने शक्ति धेरै छ, त्यसैले कोरोनाले छुँदैन भनेको गलत रहेछ ।’
जनस्वास्थ्यविज्ञले भनेकोलाई बेवास्ता गर्दै ‘कोरोना केही होइन’ भन्दा नेपाली समाजमा मच्चिएको हाहाकारले सायद अझै नेताहरूलाई छुन सकेको छैन । पाँच हजारभन्दा बढीको मृत्यु अस्पतालहरूबाट आएको तथ्यांक हो । अस्पताल नै आउन नपाएर, अस्पताल नभएर, पैसा नभएर, सडक नभएर घरमा नै कोरोनाको कारणले जटिलता भएर मरेका मानिसको तथ्यांक हामीसमक्ष कहिल्यै आउनेछैन । घोडाको आँखामा पट्टी बाँधेपछि केवल सीधा बाटो हिँड्छ, वरिपरि केही देख्दैन, त्यसैले प्रधानमन्त्रीले केवल ‘बेसार खाऊ, बेसार खाऊ’ भनिरहे । उनले कोरोनाको संक्रमण र जटिलतापछि बिरामीलाई के आवश्यक पर्छ भन्ने जनस्वास्थ्यविज्ञबाट सुन्न चाहेनन् ।
कोरोनाको पहिलो लहर केही सहज भएपछि प्रम ओलीलाई लाग्यो, ‘अब त जितियो’ । अनि उनी ‘भगवान्’ खुसी पार्नतर्फ लागे । ५१ करोडको सुनको जलप पशुुपतिलाई चढाए । भगवान्ले ‘नेपाली जनतालाई कोरोनाबाट मुक्ति दिलाउँछन्’ भन्ने उनलाई लागेको थियो सायद । प्रमले विज्ञानलाई पर धकेले, विज्ञको विचार सुनेनन् । बरु ‘रामलीला’लाई स्वागत गर्न लागे । उनले नेपालीहरू प्राणवायु अक्सिजनको कमी भएर एक अस्पतालबाट अर्को अस्पताल भौँतारिँदा पनि ‘सबै ठीक छ’ भन्ने सन्देश दिइरहे । तराईका दलितहरू कोरोनाको जटिलता भएर अस्पताल नै जान नसक्दा घरमा नै मरेको समाचार सुन्न उनले भ्याएका छैनन् । सुदूरपश्चिम र कर्णालीमा गर्भवतीहरू कोरोनाको कारण घरमै मरेको समाचार पढ्न पनि उनले भ्याएका छैनन् । त्यसैले उनलाई लाग्छ, विज्ञ र आमसञ्चारले बढाइचढाई भन्छन् । त्यसैले उनी भन्छन्, ‘मलाई सुन, मलाई सब थाहा छ ।’
सही समाचार दिने पत्रकारसँग उनी रिसाउँछन्, तथ्य–सत्य बोल्ने विज्ञलाई उनी बहिष्कार गर्छन् । उनलाई आफैँ ‘कोरोनाविज्ञ’ हुने लोभ चढेको किन हो ? उनको पालामा एकैचोटि ३९६ अस्पताल खोलिने भनेर शिलान्यास भए, अर्बौं रुपैयाँ त्यसका लागि छुट्याइयो भनिएको छ । तर, अस्पतालको शिलान्यास गरेर ‘पूजा’ गरेको खाल्डोमा अहिले फोहोर र पानी भरिएको छ भनेर उनलाई भन्ने साहस सायद कसैले गर्नेछैन ।