हाम्राे इम्युन सिस्टम बलियाे छ, दुईतिहाइका ओली झेलियाे, एकतिहाइका पनि झेलाैँ

शिलापत्र

काठमाडौँ

मनाेज साह

सबैभन्दा पीडादायी हुन्छ, असहाय महसुस गर्नु । त्योभन्दा पनि उदेकलाग्दो हुन्छ, निराशा । असहाय र निराशाकाे आगमन एकैपल्ट भएमा रिस उठ्ने शक्ति पनि क्षीण भएर जाँदाे रहेछ । लकडाउनमा घरभित्र थुनिएर बसेको अधिकांशको साझा भोगाइ हो यो ।

शरीरसँगै दिमागको ढोकामा पनि तालाबन्दी भएको आभास हुन्छ ।  कोरोनाको कोहरामले दिनदिनै त्रासदी मच्चाइरहेको देखेर पनि केही गर्न नसक्नु एउटा संवेदनशील हृदयका लागि ग्लानि हो । लोकतन्त्रमा जनता रिसाउन छाडेको काल शासकका लागि सुखद हुने नै भयो । सत्ताको शक्तिसँग गाँसिएर रहेकाे जवाफदेहितालाई किनारा लगाएर शासनसत्ता चलाइराख्न पाउनुभन्दा बढी सहुलियत अरू के नै हुन सक्छ !

सहुलियतवादमा आधारित राजनीतिद्वारा निर्दिष्ट सरकारसँग प्रश्न गर्नुपूर्व आफैँलाई प्रश्न गर्न आवश्यक भइसकेको छ । किनभने नागरिक भएको नाताले हाम्रो सामूहिक विवेकको झल्को वर्तमानकालीन राजनीतिले दिइरहेको हुन्छ । 

चौबीस घण्टाको दैनिकी सबैका लागि हुन्छ । समयले विभेद गर्दैन । गत वर्षबाट सुरुवात भएको महामारी दोस्रो लहरको रूपमा मानव अस्तित्वको जग नै हल्लाउने गरी वितण्डा मचाइरहँदा राज्यको नेतृत्वपंक्तिले चौबीस घण्टामध्ये कति घण्टा महामारी नियन्त्रणसम्बन्धी विषयमा खर्चिए र कति समय सत्ता-कुर्सीको फोहोरी खेलमा खर्चिए ?

'बालुवाटारमा अबेर रातिसम्म प्रधानमन्त्रीले स्वास्थ्य विज्ञहरूसँग छलफल गरे ।' सामाचारको शीर्षक यो हुनुपर्नेमा यस्तो हुनेगर्छ– 'बालुवाटारमा अबेर रातिसम्म प्रधानमन्त्रीले गरे योगेश र घनश्यामसँग छलफल ।' यी र यस्ता खाले सयौँ शीर्षक छन् जसले सरकारको ध्येय कतातिर छ भन्ने स्पष्ट हुन्छ । 

प्रकाशित मिति: : 2021-05-20 14:14:00

प्रतिकृया दिनुहोस्