भेन्टिलेटर आकस्मिक रूपमा मानिसको जीवन रक्षा गर्ने उपकरण हो। यो एउटा मेसिन हो।
एउटा स्वस्थ मानिसले श्वासप्रश्वास प्रक्रियामा वातावरणको अक्सिजन तानेर फोक्सोमा पुर्याउँछ र त्यही अक्सिजन शरीरको रगतमा मिसिन्छ। यसै क्रममा बनेको नचाहिने कार्बनडाइअक्साइड फेरि फोक्सो हुँदै नाकबाट बाहिरिन्छ।
दुर्घटना वा आकस्मिक रूपमा मान्छेको शरीरमा कहिलेकाहीँ खराबी आउँछ। यो प्रक्रियामा खराबी आउँदा अक्सिजनको कमीले कार्बनडाइअक्साइड बाहिर निकाल्न नसकेर बिरामीको श्वासप्रश्वासमा गडबडी आउन सक्छ। त्यो गडबडी शरीरले धेरै धान्न नसक्ने किसिमको हुन्छ।
यस्तो बेलामा बिरामीको फोक्सोमा अक्सिजन पुर्याएर कार्बनडाइअक्साइड फोक्सोबाट बाहिर निकाल्ने काम भेन्टिलेटरले गर्छ। शरिरको स्वास्थ्य प्रणालीले गर्ने काम मेसिनले गर्ने हुनाले यो जीवनरक्षक उपकरण हो।
अहिले कोरोनाभाइरसको महामारी छ। कोरोनाको मुख्य असर मानिसको श्वासप्रश्वास प्रणालीमा पर्छ। श्वास फेर्न नसकेर घिटीघिटी भएका बिरामीलाई तुरून्तै भेन्टिलेटरमा राख्न सके जीवन बच्छ।