इजरायली हवाई आक्रमणमा ध्वस्त भएको घरभित्र पुरिएकी गाजाकी छ वर्षीया बालिकाको सात घन्टापछि सकुशल उद्धार गरिएको छ।
सुजी एस्कुन्ताना नामकी ती बालिकालाई अहिले गाजाको सबैभन्दा ठूलो अस्पतालमा भर्ना गरिएको छ।
गत आइतबार इजरायलले गरेको हवाई आक्रमणमा उनको घर ढल्दा उनकी आमा र चार जना भाइबहिनी बितेका छन्।
सात घन्टासम्म भग्नावशेषमा पुरिएकी सुजीलाई उद्धारकर्ताहरूले निकालेर सिफा अस्पताल पुर्याएका थिए। सोही अस्पतालमा उनका घाइते बुवा रियाद एस्कुन्तानाको पनि उपचार भइरहेको छ।
'मलाई माफ गर, मेरी छोरी। तिमी बाबा आउनु भन्दै रोइरहेकी थियौ तर म आउनै सकिनँ,’ छेउकै अर्को बेडमा आइपुगेकी छोरीका हात चुम्दै रियादले भने।
गाजा सहरमा रहेको उनीहरूको घर आइतबार बिहानै इजरायलले हानेको रकेटले ध्वस्त बनाएको थियो। आइतबारमात्रै इजरायलले गरेको आक्रमणमा परी ४२ जनाको मृत्यु भएको गाजाका स्वास्थ्य अधिकारीहरूले बताएका छन्।