दिउँसोको करिब १ बजेको छ। नगर अस्पतालबाहिर मान्छेको आवतजावत निकै छ। कोही आत्तिएका, कोही डराएका, कसैले क्यानोला लगाएका, कोही बिरामी कुरुवा र अस्पतालका कर्मचारीहरु (डाक्टर, एचए, नर्स) ओहोरदोहोर गरिरहेका छन्।
अचेल कोभिड–१९ ले विश्व आक्रान्त छ। छिमेकी देश भारतमा दैनिक तीन हजारजसो मान्छेले मृत्युवरण गरिरहेका छन्। खुल्ला सिमानाका कारण त्यसको असर नेपालमा झन् नहुने कुरै भएन। नेपालमा पनि दैनिक १०/१२ जनाबाट बढेर दुई–तीन सय मरिरहेको तथ्याङ्क हरेक बेलुका स्वास्थ्य मन्त्रालयका प्रवक्ता सुनाइरहन्छन्।
यतिबेला म भएको अस्पतालमा पनि कोरोनाका बिरामी र शङ्कास्पदहरुको लर्को छ। 'आरडिटी पोजिटिभ' देखिएकाहरु मुखमा 'अक्सिजन मास्क' लगाएर सुतेको देखिन्छ। उनीहरुलाई एउटा छुट्टै कोठा छ। यद्यपि शौँचालय भने सबैले एउटै प्रयोग गर्ने रहेछन्।
अस्पतालमा भर्ना भएकाहरु र 'आरडिटी पोजिटिभ' भएकाहरुको अवस्था उस्तै लाग्छ। सबैका आँखा मलिन थिए। सबैको मनमा एक किसिमको डर आँखामा झल्किन्थ्यो।
मनोबल कमजोर नहोस् पनि कसरी दैनिक समाचार र सामाजिक सञ्जालमा अक्सिजन नपाएर तड्पिरहेका मान्छेहरुको भिडियो हेर्दा हेर्दै ऊ आफू अस्पताल पुगेको हुन्छ।
लाश जलाउन पालो कुर्नुपर्ने अवस्था भयावह होइन त? अचेल नयाँदिल्लीतिरका र अरु थुप्रै देशहरुका यस्तै–यस्तै भिडियोहरु सामाजिक सञ्जालमा भाइरल छन्।
मान्छेलाई वनको बाघले भन्दा पहिला मनको बाघले खान्छ। मान्छे सकेसम्म बेवास्ता गर्छ। जब आफूमा आइपर्छ तब मात्रै ऊ ठोकिन्छ। त्यतिबेलासम्म समय धेरै अघि बढी सकेको हुन्छ।
यस्तै अवस्था म अहिले रहेको अस्पतालका बिरामीहरुको छ। सामान्य रुघाखोकीलाई मान्छेले बेवास्ता गर्छ। तब त्यही रुघाखोकी लामो समयसम्म रोकिँदैन । जब श्वासप्रश्वासमा समस्या आउँछ, तब अस्पताल पुग्छ। त्यतिञ्जेल समयले नेटो काटिसकेको हुन्छ। अक्सिजनका सिलिन्डरहरु रित्तिसकेका हुन्छन्।
सरकारले 'आफ्नो सुरक्षा आफैँ गरौँ' भन्ने नारा आत्मसात गरिसकेको हुन्छ। त्यस्तो अवस्थामा पुगेका बिरामीहरुलाई त्यहाँका डाक्टरहरुले भगवानमा भरोसा राख्नुस्, केही हुन्न भन्न थाल्छन्।
अब बल्ल घैँलोमा घाम लाग्छ। ऊ छटपटाउँछ, ऊ केवल मृत्युनजिक पुग्छ तर न ऊ आराम महसुस गर्छ न त सहजै मृत्युवरण नै गर्न सक्छ।
म यतिबेला हजुरबुबाको उपचारका लागि दिनभरि यहीँ छु। सबैलाई नजिकबाट नियालिरहेको छु। सबैको आकांक्षा बाँच्ने हुँदाहुँदै केहिले यसै अस्पतालमा प्राण त्याग्नुपर्ने निश्चित छ। डाक्टरले कुरा गर्दैगर्दा सुनेको भरमा यसरी दाबा गर्दैछु।
एक महिला अन्दाजी ३५/३६ वर्षकी आकस्मिक कक्षको अन्तिम बेडमा अन्तिम पटक जसरी श्वास लिरहेकी छिन्। अस्पतालमा अक्सिजनका जम्मा तीन सिलिन्डर छन्। तीमध्ये एक उहाँलाई प्रयोग भएको छ। यति भनेपछि कल्पना गर्नुस्– कति गम्भीर अवस्था होला?
उनको दायाँपट्टि एक जना लोग्ने मान्छे छन्। जो अन्दाजी ४०/४२ वर्षका हुनुपर्छ। बायाँपट्टि अन्दाजी १२/१३ वर्षका बालक मलिन मुद्रामा झोक्राएका छन्। उनीहरु बा, आमा र छोरा हुनुपर्ने सहजै अनुमान गर्न सकिन्छ।
आमा मृत्यु शय्यामा छिन्। बालक एकहातले आमाको मुखबाट निस्किरहेको फिज पुछ्दै अर्कोले आफ्ना रसाएका आँखा सुख्खा बनाउने प्रयत्न गर्दै गरेको छ। यो दृश्यले कसको मन नभक्कानियला र? मेरो अनुहारमा पनि एक्कासी मलिनता छाउँछ। अनि मन बालकलाई सान्त्वना दिन हौसिन्छ।
म: बाबु, यता आउ त !
बालक नबोली केही आशातीत अनुहार लिएर बाहिर निस्किन्छ।
बालक: (मलिन स्वरमा) हजुर दाइ !
म: के भएको आमालाई ?
बालक: खोइ श्वास फेर्न गाह्रो भएको छ। डाक्टरले बाफ (अक्सिजन) लगाइदिनु भा'छ। मुखबाट फिज आइरहेको छ। आमा नबोलेको हप्तादिन भयो। डाक्टरलाई मेरी आमा बचाइदिन भन्दिनुस न दाइ ! (शायद उसमा मैले केही गरिदिने आशा पलाउँछ।)
मैले ऊप्रति देखाएको सहानुभूतिले आशाको किरण छाएको महशुस गर्छु। 'भित्र बस्दै गर, म डाक्टरलाई ल्याएर आएँ है !' भनेर डाक्टर भएतिर गएँ म।
डाक्टरलाई बिरामीबारे सोधपुछ गरेपश्चात थाहा भयो– बिरामी अन्तिम अवस्थामा भएको र डाक्टरले दिउँसो नै बिरामी बाहिर लिएर जान सुझाव दिनुभएको रहेछ। बिरामी महिला बेहोश थिइन्। मैले फेरि बालकलाई बोलाएँ।
बालक फेरि आशातीत अनुहार लिएर अघिभन्दा अलि चाँडो म कहाँ आइपुग्यो।
म : 'बाबु, बुबालाई भनेर आमालाई बाहिर लग्न भन। यहाँ आमालाई झन् पीडा हुन्छ।' यति भन्न नपाउँदै फेरि उसका आँखा रसाए।
बालक : बुबाले भनेकै मान्नु भएन। अघि डाक्टरले समेत भन्या थे।
म केही बोल्नै सकिनँ। डाक्टरले भन्दाभन्दै पनि एक लोग्ने मान्छे श्रीमतिको मृत्यु कुरेर बसेको छ। उसले बालकको भविष्यसमेत सोचिरहेको छैन। अझ उसले त 'सात जनम एक साथ' रहन अग्निलाई साक्षी राखेर खाएको कसम बिर्सिसकेछ। बेवास्ता गरिरहेछ ऊ, उसलाई सन्तान सुख दिने महिलाको पीडा।
उसले बाबुलाई पटक–पटक जाउँ न बाहिर लैजाऊँ भन्दा समेत नमानेका बाबुका लागि बालकको मनमा घृणा पैदा भइसकेको प्रष्ट थियो।
ऊ आँसु पुछ्दै बाहिर निस्किन्थ्यो। शायद भगवानप्रति उसको आशा अझै बाँकी थियो। बेला–बेला खुला आकाशतिर हेर्थ्यो। म पनि उसको मौन चिच्याहट हेरी बस्न र उसकी आमाका लागि भगवान पुकार्नबाहेक केही सक्दैनथेँ।
शायद् एक पटक आमालाई साह्रै गाह्रो भएको महसुस गरेछ। ऊ बाबूसँग झोक्किँदै 'कोही चाहिन्नँ, म गएँ' भन्दै दौडेर गेट बाहिर निस्किन्छ। पछि पछि बाबू गएर झोक्किँदै फर्काएर त ल्याउँछ तर ऊ शान्त थिएन । आमालाई जसरी पनि बाहिर राम्रो ठाउँ लैजाने अनुनय–विनय गरिरहेको हुन्छ।
बाबु भने 'यहीँ ठीक भइहाल्छ न आत्ते' भन्दै हकार्छ। मलिन अनुहार लिएर, फेरि बालक आमाको छेउमा बस्छ। मुखबाट निस्किएको फिज पुछ्छ। गहभरl आँसु ल्याउँछ।
उसको रोदन हेर्दाहेर्दै समयले नेटो काटिसकेको थियो। रातिको २ बजिसकेछ। हजुरबुबाको छेउको 'बेड' खाली भएकाले म निदाएको थिएँ। म एक्कासी ब्युँझिएँ। त्यो बालक मानसपटलमा आयो। आकस्मिक कक्षतिर गएँ। आकस्मिक कक्षभित्र भीड थियो।
कहिल्यै भीडभाड हुन नदिने पालेदाइ आज ट्वाल्ल परेर हेरिरहेका थिए। म भित्र पस्ने प्रयास गर्दागर्दै एम्बुलेन्सले साइरन हान्यो। भित्रका मान्छे बाहिर आए तर बालकलाई भने देखिन।
उसका बाबू रक्ताम्य भएर बाहिर निस्किए। भिड छिचोल्दै गएपछि फलामको रड समातेको खाइदिउँला जसरी हेरिरहेको बालकको अनुहार आँखामा पर्यो। छेउको बेडमा अक्सिजन माक्स निकालिएको आमाले मृत्यु रोजिछिन्। बाहिर हेरेँ– अघिको एम्बुलेन्सको जस्तो साइरन प्रहरीको रहेछ।