केही दिनदेखि मणिपुरका वरिष्ठ निबन्धकार श्री मुक्ति गौतमसँग फुर्सदको बेलामा कुुराकानी गर्न मन लागेर दुई चोटी फोन घुमाईसकें। तर उहाँको फोन पिटिक्कै लागेन।
लागेन भनी ढुक्क बस्न पनि मूर्खता हो। किनभने वैज्ञानिकहरुले अहिलेको समयमा धेरै विकल्पहरू दिएका छन्।
म्यासेन्जरमा कल गरें। उहाँले कल रिसिभ गर्नु भयो। भाईको मृगौलाको (किड्नी) रोगले गर्दा काठमाडौंमा उपचार चल्दै रहेछ। भाईको उपचार एवं मृगौला दान गर्नका लागि केही महिनादेखि काठमाडौंमा हुनुहुँदो रहेछ। कुरा गर्दागर्दै मन-मनै सोचेँ, उहाँको हृदय कति ठुलो होला! आफ्नो मृगौला दान गरेर अरूको प्राण बचाउने।
सायद यहीँ सुचरित्र भएर होला- उहाँले मणिपुर साहित्य लगायत नेपाली साहित्य जगतमा चार उच्च कोटिका पुस्तकहरू, जसमा मणिपुरमा नेपाली जनजीवन (प्रथम संस्करण-१९९९), हिन्दु अध्यात्म चिन्तन-२०११, विचार प्रवाह-२०१५, मणिपुरमा नेपाली जनजीवन (संशोधित दोश्रो संस्करण-२०१६) दिएर साहित्यको सेवामा संलग्न हुनुहुन्छ।
वार्तालापमा साहित्यिक, धार्मिक अनि सामाजिक मिश्रण हुँदा मलाई वार्तालाप गहिर्याउँन चासो लाग्छ। धार्मिक, साहित्यिक, जाति-पाति एवं समाजका विसङ्गतिहरूको चर्चा भयो। मलाई खुसी लाग्यो। खुसी लाग्नुको कारण चाहिँ मेरो र उहाँको सबै विषयमा धारणाहरू झण्डै-झण्डै मिल्दाजुल्दा रहेछन्।
एक घण्टाजति यी नै विषयको चर्चा-परिचर्चा, व्यक्तिगत जीवनको कुरा हुन लाग्यो-उहाँको परिवार, प्रकाशित पुस्तकबारे, कालापहाडमा भएको घरको जानकारी एवं अन्य। त्यसपछि उहाँले मेरोबारे सोध्नु भयो- वैवाहिक जीवन, छोराछोरी कति छन्? दिल्लीमा कति साल भयो बसेको? लेखहरू लेख्न नछोड्नु, इत्यादि।
यस्तै पारिवारिक प्रश्नको क्रममा उहाँ सोध्नु हुन्छ- ‘कालापहाडमा तिम्रा आफन्ता कोही छन्?’
म उत्तर दिन्छु- ‘कालापहाडमा फुपुको छोरीको विवाह भएको छ। अनि सन्तोलाबारीको पल्लो नाला पारी, त्यो कुकी बस्ती कैथेन्मान्बी मास्तिर चाहिँ मेरो ठुली दिदी हुनुहुन्छ। सोभित शङ्करलाई चिन्नुहुन्छ होला नि? उहाँ मेरो भिनाज्यू हुनुहुन्छ।’
‘किन नचिन्नु उसलाई। मज्जाले चिन्छु। ऊ त मेरो घरमा पहिले दुई वर्ष जति बसेका हुन्।’ उहाँको जवाफमा आश्चर्यजनकको आभास पाएँ, साथै अपनत्व पनि।
‘ए! हो र? कुन घरमा काका?’, म पनि आश्चर्य हुँदै प्रश्न गर्छु।
‘अहिले तिम्रो दिदी बसेकोदेखि अलिक ओर टाँडे घर थियो। त्यहीँ घरमा दुई वर्ष बसे नि। तिम्री दिदी धेरै सोभानी चरित्रकी छिन्। सोभितका बाबा-आमा माछामासु केही नखाने शाकाहारी धार्मिक प्रवृतिका मज्जाका थिए। अहिले उनका बा-आमा दुबैको खसी सके।’
म अवाक् पर्छु। आश्चर्य पर्छु। यही आश्चर्यलाई बोध गराउँदै भन्छु-‘त्यो घर पो हो। एक तल्ला भएको टाँडे घर, ग्वाली र भान्साघर भिन्नै बनेको, बारीमा इन्चाङका रूख, छेउमा कूलो भएको घर होइन?
- ‘हो हो, त्यही घर हो।’
- ‘काका त्यो घरमा दिदी बस्दा म धेरै चोटि गएको थिएँ।’
- ‘ओहो! तिमी त नजिकैको रहेछौ नि।’
- ‘हो नि काका, कुरा गर्दै जाँदा नजिकैको पर्यौं।’
- ‘त्यो घर त मैले वेद विज्ञान गुरूकुलका निम्ति स्व.बुबाका नाममा दान दिएँ। त्यहाँ अहिले नयाँ बिल्डिङ्ग बनाएको छ। छात्रहरू पढ्छन्, बस्छन्। मेरो बाबाको प्राण त्यहीँ गएको हुनाले माया लाग्छ, त्यो ठाउँसँग।’
म पुनः मनै-मन सोच्दछु-यहाँको हृदय कति उदार, अरू एक मुट्ठी माटाकालागि रगत बगाउँछन् तर काकाले सहजै लोक कल्याणकालागि घरबारी दान दिनु भयो। हृदय विशाल रहेछ। ‘त्यो घर मास्तिर हजुरको छिमेकी हुनुहुन्छ नि रामदाम? उहाँ चाहिँ मेरो भिनाज्यूको भिनाज्यू।’
- ‘ए! उहाँ त मेरा आफन्त पर्नु हुन्छ।’
म फेरि पुनः आश्चर्य हुँदै प्रश्न गर्छु-‘ला! रामदाम हजुरका आफन्ता कसरी ?’
- ‘यसमा पनि धेरै पुस्ता अगाडीको कथा जोडिएको छ।’
- ‘के कथा हो, काका? भन्नु न।’ मेरो जान्ने उत्सुकता बढ्छ- 'कसरी कामी जाति ब्राह्मणको आफन्त परे ?'
निबन्धकार भन्न लाग्नु हुन्छ- “उहिले लगभग पाँच/छ पुस्ता अघिको नेपाल पहाडको कुरा हो। रामु र दामु नाम गरेका गौतम दुई दाजुभाई गोठ पालन गर्दथे। गाई धेरै भएका हुनाले अहिले भएको गोठको छेउछेउमा घाँसपात मासिनाले गोठ सार्ने कुरा निश्चित हुन्छ। अघिलो दिनै नयाँ गोठ सार्ने ठाउँ हेर्न रामु र दामु दुबै जान्छन्। बिहानै हिँडेका दाजुभाईले चाँडै ठाउँ हेरी सकेर घरतिर लाग्छन्। बैशाखको टन्टलापुर घाम थियो। जङ्गलको बाटो हिँडेका, तिर्खाले भुतुक्क हुन्छन्। तिर्खा मेटाउने यता-उता हेर्न लाग्छन् तर घोर जङ्लमा न कूलो न धारो। केही भेट्दैनन्। तिर्खाले घाटी नै सुक्छ। केही पाइला अघि बढेपछि एउटा घर देख्छन्।
घरआँगन पुगेर रामले आवाज दिन्छन्-‘घरमा कोही हुनुहुन्छ? पानी पाउन?’ लगभग दश वर्ष पुगेकी कन्या लोटामा पानी लिएर आउँछे। केही न सोधी लोटाको पानी लिएर रामुले घटघट खाएर तिर्खा मेटाउँछन्। तर दामुले खानुअघि कन्यालाई प्रश्न गर्छन्-‘कसको घर हो बहिनी?’ दामुले परोक्षरूपमा जात सोधेका हुन्। नेपाली समाजमा पहिले नचिनेको मान्छेसँग भेटी सक्दा सर्वप्रथम उसको थरी र जाति सोधी हाल्थे। यो रिवाज अहिले वर्तमानमा पनि धेरै ठाउँ बाचिरहेको छ।
‘यो कामीको घर हो।’ कन्याले जवाफ दिन्छे। जवाफ सुनी सक्दा रामु र दामु दुवैजना हस्रङ्ग पर्छन्। दामुले दिएको लोटा सिकुवामा राख्छन्। रामु डरले कालो हुन्छ। पानी पेटभित्र पसी हाल्यो, निकाल्न पनि नहुने। पश्चताप् हुँदै पेट छाम्न लाग्नछन्, रामु।
यति घटित् भएर दुबै घरतिर लागे। बाटोमा रामुले दामुसँग अनुरोध गर्छन्-‘दाई यो कुरा घरमा नभन्दिनु ल। थाह भयो भने समाजले मलाई काढ्छन। मैले छोएको पानी खाँदैनन्।’
‘भाई अरूलाई थाह नभए पनि त मलाई र त्यो कन्यालाई थाह छ। तैले कामीको घरमा पानी खाइस् नी। म कसरी यो धर्म नष्ट हुने कुरा लुकाउनु।’ भाईको अनुरोधले उसलाई केही असर पारेन।
दुबै घरमा पुग्छन्। दामुले घरमा पुग्नेसाथ रामुले पानी पिएको कुरा सुनाउँछन्। गाउँ समाजमा त्यो घटना आगो सरी फैलिन्छ। समाजले मिटिङ्ग जुराउँदछ। समाजका ठूला-ठालुले ब्राह्मण समाजबाट रामुलाई पानी काढ्छन अर्थात जात झारी दिन्छन्। आफ्नै घरमा रामु पस्न पाउँदैनन्। उसलाई औधी पिर, दुःख लाग्छ। तर जीवनयापन गर्नु नै थियो। जुन्, कामी कन्याबाट हातको पानी खाएर जात गएको थियो, त्यही कन्यासँग बिहे गर्छन्। समाजले उसलाई कामी वर्णमा सम्मिलित् गराएर नयाँ थर दिन्छन् ‘रामदाम’।”
भाई, त्यहाँबाट रामु गौतम जो एक ब्राह्मण थिए। ऊ कामी भएर वंश अघि बढाउँछन्।
- ‘त्यो कथाको आधारमा तिम्रा भिनाज्यूका भिनाज्यू मेरा भाई पर्छन्।’
- ‘ओहो! त्यसरी पो रामदाम थरीको सिर्जना भएको हो। काका त्यसो गर्दा त म तपाईंको ज्वाँई परें नि!’
- ‘कसरी?’ उहाँले प्रश्न गर्नुहुन्छ।
- ‘मेरी श्रीमती रामदामकी छोरी हुन् नि त। त्यो कथाको आधारमा म ज्वाई परें हैन र ?
- ‘हो नि। त्यो आधारमा तिमी मेरा ज्वाँई पर्याै। कुरा गर्दा गर्दै साइनो नजिकैको पो परो त भाई।’
- ‘हो नि काका। त्यसो त काका, मेरो पनि थरी बद्लिएको हो कि? ब्राह्मण लामिछानेबाट लामगादे।’
- ‘हुन पनि सक्छ भाई ?’
- ‘निष्कर्षमा पुग्दा त सुरूवातमा त सबै एकै सन्तान रहेछन् काका।’
- ‘हो नि भाई। वैदिक कालमा जन्मका आधारमा होइन कर्मका आधारमा वर्ण विभाजनको व्यवस्था थियोे। छुवाछूत थिएन। तर पछि-पछिका स्वार्थी तत्वहरूबाट जन्मका आधारमा वर्ण विभाजन गरियो।’
केहीबेर यी नै कुरामा परिचर्चा भएर हाम्रो वार्तालाप विराम हुन्छ।