सुमनले देखेको 'मुगुको थिएटर'मा एकदिन कुनै कलाकारले भन्ने छ- 'म मुगुबासी पुन्न बहादुर विश्वकर्मा'

Breaknlinks
Breaknlinks

२०७६ साल कार्तिक चार गते बिहान मुगुकाे 'दिदी बहिनी हाेमस्टे'बाट करिब एक घण्टा घुँडा खुम्चिने गरि ओरालाे हिँड्दा गमगडी बजारकाे धमिलाे दृश्य देखिन्छ। एक बिरानाे सानाे शहरकाे धुमिल चित्र देख्दै गर्दा मनले एक आफन्त खाेजिरहेकाे थियाे।

जुम्ला छाेड्ने बेलामा रंगकर्मी हिरा बिजुली नेपालीसँग फाेनमा सम्पर्क भएकाे थियाे। एक मनले कहिले नभेटेकाे मान्छे कसरी आफन्तै भैदेला र सहयोग गर्ला भन्ने शंका गरिरहेकाे थियाे भने अर्काे मन भनिरहेकाे थियाे, 'तेराे आफन्त उहीँ हाे।' 

ढुक्क र ढुकचुक सँगै भयाे। 

त्यसमाथि अघिल्लो रात हिरा आफैले फाेन गरेका थिए। गमगडी गएपछि उनैकाे सहयोगमा मुगु चिन्ने काम भइजाला भन्ठानेर दाेधारे मन शान्त हुँदै थियाे। 

कवि हेमन्त विवशलाई भने आफन्त चाहिएको थियाे। म जसरी हिराले सहयाेग गर्नेछ भनेर ढुक्क थिए, त्यसरी उनी पनि एक जना पहिल्यै चिनेकाे मान्छे भेटिजाला भन्ने आशामा थिए।

उनले खाेजेका मान्छे थिए, मुगुका सुमन मल्ल। तर उनीसँग सुमनकाे नम्बर थिएन। उनले काठमाडौंका धेरैलाई फाेन गरे। १२ वर्ष अगाडि काठमाडौंमा हाइ-हाइ भएकाे शुमनलाई सँधै काठमाडौंले काखि च्यापेनछ, सायद। 'स्वार्थ र चलाखी'काे बिम्ब काठमाडौंले उनलाई बिर्सन थालेछ क्यार, फाेन नम्बर केही गरि पत्ता लागेन।



माओवादी क्रान्ति : ‘कसरी मार्ने’ सिकायो, ‘कसरी बाँच्ने’ सिकाएन



मैले सुमन मल्लकाे भर मानेकाे थिइन। उनी खासै केयर गरेकाे पात्र थिएनन्। उनलाई राम्ररी चिनेकाे पनि थिइन। हेमन्त विवस हिरा बिजुलीलाई खासै वास्ता गरिरहेका थिएनन्। म विस्तारै उनकै लाइनमा गए।  मनले एक अर्काे आफन्तकाे खाेजी गर्‍याे। अनि म पनि लागे, शुमनकाे नम्बर खाेज्ने धाउन्नमा।

जुम्लामा रहेका कान्तिपुर सम्वाददाता एलपी देवकोटालाई फाेन गरे। उनले कान्तिपुरका मुगु सम्वाददाता राज बहादुर शाहीकाे नम्बर उपलब्ध गराए। शाहीकाे फाेन धेरै पल्ट उठेन। सुमन नागरिक दैनिकमा काम गर्छन् भन्ने थाहा पाएपछि जुम्लाका डिबी बुढालाई फाेन गरे। उनीसँग पनि नम्बर रहेनछ।

हामी ओेरालाे हिँडिरहेका थियौं। गमगडीकाे दृश्य क्रमशः प्रष्टिदै गएकाे थियाे। गमगडीले नजिक आउ भनिरहेकाे थियाे। 'तुमी पनि कर्नालीकै त हाै, क्यालै माेकन बिरानाे मान्ना? आम्नै ठान' भनेजस्तै लाग्याे। कर्नालीकाे भूगोल र नदी दुबै आफ्ना बा-आमा जस्ता नजिकका लाग्न थालेर मन खुसी हुँदै गयाे। गमगडी देखि प्रसन्न भए। बादल फाटेपछि निख्रिएकाे आकाशजस्ताे।

त्यही बीचमा मैले हिरा बिजुलीलाई फाेन गरे। उनीसँग पनि सुमनकाे फाेन नम्बर रहेनछ। बजार पुग्नै आँट्दा पनि उनकाे नम्बर पाउन सकिएन। पछि राज बहादुर शाहीले कल ब्याक गरे। मन ढक्क फुल्याे। अब त नम्बर कस्साे नपाइला भनेर अनुहारमा खुसीको दियाे बल्याे। तर छणभरमै चैते हुरीलाग्याे र दियाे निभ्याे। अनुहार रात परेजस्ताे अँध्यारो भयाे। हिरा नाै बजे पछि मात्र बजार आउने, हामी सातै बजे गमगडी पुगि सक्यौं।

यसबीचमा मैले मुगुमै पत्रकारिता गरिरहेका जुम्लाका खड्ग सुनारलाई सम्झिए। उनी भेट्नै आए तर शुमनकाे नम्बर आएन। लाग्याे, जसरी काठमाडौंले बिर्सिरहेकाे छ ठिक त्यसरी नै सुमनमुगुमा पनि बिर्सिइदै छन्। मलाई काठमाडौं र मुगु उस्तै लाग्याे।

कर्णालीले पहिलाे पटक 'हामी पनि छाैं है' भनेर काठमाडौंमा आफ्नाे उपस्थिति थिएटर मार्फत जनाएकाे थियाे। ओहाे ! काठमाडौंले तयार पारेकाे भन्दा कता हाे कता माैलिक र अर्गानिक नाटक। कलाकारकाे जीवन्त अभिनय। सिंगाे सत्ताकाे ध्यान खिच्न सफल भयाे, 'कर्नाली दख्खिन बग्दाेछ' नाटकले। त्यहीँ नाटकमा जीवन्त अभिनय गरेका थिए, सुमन मल्लले। त्यहीँ मान्छेकाे नम्बर हामी धुँइपत्ताल गरि खाेजिरहेका थियौं। तर भेटाएका थिएनौं।



गुल्जार रारा



कर्नालीकाे सम्भावना कति छ भनेर देखाउने नाटक 'सुइना कर्नालीका' का लेखक, जसले कर्नाली चिनाएन मात्र सिंगाे कर्नाली कस्तुरी हाे भनेर देखाइदियाे। तर सत्ताले कस्तुरीकाे विना चिन्न नसकेको भनी प्रश्न खडा गरिदिए, सुमनले। कर्नालीसँग विना छ भनी उनले उतिबेलै देखाएका थिए। तर त्याे विनाकाे बासना न केन्द्रकाे सत्ताले बुझ्याे न त प्रदेश र गाउँका फाेटाेकपि सिंहदरबारले नै। परिणाम आफ्नै वासना थाहा नपाउने कर्नाली आज पनि जहाँकाे त्यहीँ छ।

शुमनकाे कलाकारिताकाे तारिफ नगर्ने कमै भेटिन्छन्। नेकपा माओवादी कर्णाली प्रदेश सदस्य पूर्ण धिताल उनलाई  एक सर्जककाे रुपमा बुझ्छन्। जसले कर्णालीकाे कारुणीक चित्र साहित्यमा उतार्‍याे। 'एक भावुक पात्र, जस्ले अभावमा बाँचेकाहरुका पीडा पाेखे,' उनले भने, 'एक पीडित जाे आफै विपन्नताकाे, पिडाका शिकार भए।'

यस्तै धारणा बनाएका छन्, जुम्ला बहुमुखी क्याम्पसका उप प्राध्यापक प्रकाशचन्द्र खत्रीले। उनी भन्छन्, 'सुमनकर्णालीकै उत्कृष्ट रङ्गकर्मी हुन। जसले सिङ्गाे कर्णालीकाे यथार्थतालाई उजागर गर्न सफलता प्राप्त गरे। कर्णाली राेग, भाेग, अशिक्षाकाे पर्यावाची मात्रै हाेइन अथाह स्राेत र  संभावनाकाे खानी हाे भन्ने कुरालाई अभिनयद्वारा पस्कदै, अवसर पाएमा कर्णालीबासीले देश  चलाउने हिक्मत राख्छन्  भन्ने सन्देश पनि दिएका छन्। कर्नाली दख्दिन बग्दाेछ र सुइना कर्नालीका जस्ता उत्कृष्ट नाटक लेखेर आफ्नाे पहिचान दिन सफल श्रष्टा हुन्।'

म अब भने यस्ताे मान्छेसँग भेट हुने व्यग्र प्रतिक्षामा थिए। तर जति गर्दा पनि नम्बर नपाउँदा मनमा उही निराशा छचल्किरहेकाे थियाे। खै कसरी हाे हेमन्त विवशले उनकाे नम्बर पत्ता लगाए।

हामी ठाडाे गमगडी बजारकाे किनारामा तेस्राे लागेर बस्याैं। चाउरी परेकाे अनुहार, दुब्लाे शरीर, शिरमा ढाँका टाेपी, पिंङ कलरकाे टिसर्ट, पछाडि सस्ताे खाले झाेला बाेकेकाे, सादा पाइन्टवाला मान्छे हल्का मुस्कुराउँदै हामीतिर अघि बढ्याे। केही छिन भलाकुसारी भयाे। कवि विवश राजा भनेर सम्बाेधन गरिरहेका थिए।

मैले उस्ताे वास्ता गरिन। कवि विवश जात अनुसारकाे भाषाकाे लवज मिलाउन जान्दथे। साेचे ठकुरी रहेछ। अलि पछि मैले नपत्याइकनै साेचे यहीँ मान्छे रहेछ, सुमन मल्ल। बल्ला प्रत्यक्ष भेटे उनलाई। उनकाे सादापनले मलाई लाेभ्यायाे। सम्मान सिलंगीकाे रुखझैं बढ्याे। तर मुगु डायरी लेख्दै गर्दा मैले उनलाई छुटाए। कारण थियाे मैले लेख्नु अघि नै हेमन्त विवशले उनीमाथि फिचर लेखेका थिए। एकै समयमा एउटै पत्रिकामा दुईवटा फिचर खल्लो हाेला भन्ने लाग्याे। तर छुटाएकाेमा अन्याए गरे जस्ताे लागिरह्याे पनि। यतिबेला मसँग पश्चाताप बाहेक केही छैन। कारण उनी छैनन्।



मीनबहादुर, जसले जुम्लाकाे गाउँमा देशकै ठूलाे फुजी-स्याउ बगैँचा बनाए



करिब २ वर्षदेखि मधुमेह र बाथरोगबाट थला परेका उनकाे बैशाख २९ गते दुखद निधन भएकाे छ। उनकाे मृत्युुले कर्णालीकाे कला र पत्रकारिता क्षेत्र शाेकमग्न छ। तर कुनै प्रसाद नामकाे सत्ताकाे राैं समेत हल्लिएकाे छैन।

सुमन मल्ललाई आफ्नै छिमेकी र नातागोताकाले समेत सहयाेग नगरेकाे मुगुका हिरा बिजुलीकाे राय छ। 'उहाँ मुगुमा हुँदा जमेर पत्रकारिता गर्नुभयाे। आफन्त नातागाेताभन्दा पनि सत्य कुरा लेख्न थाल्नुभयाे। त्याे धेरैलाई पचेन,' उनले भने, 'भष्ट्राचारी र सामन्तहरुले सत्ताबाट लाभ लिएका छन्। एउटा ठकुरी परिवारमा जन्मेर पनि कुनै लाेभ लालचमा नफसी मुगुकाे पत्रकारितालाई माथि उठाउन सहयाेग गर्ने सुमनदाइले काका मन्त्री हुँदा र भिनाजु मेयर हुँदासमेत कुनै लाभ लिनु भएन। बरु उल्टै उनीहरुले नानाथरी आराेप लगाए। परिणाम राज्यकाे एउटा दुर्लभ हिराकाे अकालमा ज्यान गयाे।'

ठकुरी परिवारमा जन्मेपछि संरचनात्मक लाभकै कारण पनि उनी एक स्टेप अगाडि हुन सक्थे। तर जीवनभर सम्पत्ति जाेड्ने र लाभ लिने काममा लागेनन्। उनले भने, 'त्यहीँ उहाँकाे सगरमाथा जतिकाे अग्लाे, से फाेक्साेण्डाे जतिकाे गहिराे र रारा जतिकाे स्वच्छ छवि हाे।'

हिरा बिजुली सुमनलाई रंगकर्मी कम र पत्रकार बढी मान्छन्। कारण उनी लामाे समय रंग क्षेत्रमा लागेनन्। मुगुमा फर्केपछि पत्रकारितामा लागे। पत्रकारिता भने जमेर गरेकाे उनकाे बुझाई छ। 'तथापि उहाँले पत्रकारिता र कलाकारिताकाे नाममा कहिले पनि लाभ लिन खाेज्नु भएन।'

नेपाल पत्रकार महासंघका केन्द्रीय काेषाध्यक्ष कलेन्द्र सेजुवालकाे नजरमा सुमनलगनशील, सिर्जनशील र मिहेनती पत्रकार हुन्। उनी कर्णालीका खास मुद्दाहरुको पहिचान गरेर पत्रकारितामार्फत् उजागर गर्न सक्ने क्षमता भएका निडर व्यक्तित्व हुन्।

'पत्रकार बाहेक उहाँकाे नाट्यकर्मीकाे रुपमा समेत उचाे छवि छ,' उनले भने, 'सुइना कर्नालीका' र 'कर्नाली दक्खिन बग्दोछ' नाटकका लेखक तथा कलाकार हुनुहुन्छ। उहाँको निधनबाट कर्णालीले एक असल पत्रकार र कलासाधक गुमाएको छ।'

मल्ल चर्चित नाटक 'सुइना कर्णालीका' काे लेखक भएपनि 'कर्नाली दख्खिन बग्दाे छ' उनले नलेखेकाे हिरा बिजुली बताउँछन्। 'कर्णाली दख्खिन बग्दाे छ'मा उहाँले अभिनय गर्नुभएकाे हाे। लेख्नुभएको हाेइन। त्याे नाटक सामुहिक छलफलकाे माध्यमबाट आँशु रचनाका आधारमा तय भएकाे थियाे। तथापि उहाँले त्याे नाटकमा जीवन्त अभिनय गर्नुभयाे।'

सुमनले जे गरे, त्यसमा उनी दत्तचित्त भएर गरे। त्यसबाट उनले लाभ लिन खाेजेनन्।  त्यसैले अभाव उनकाे सारथि बन्याे।



विदेशीकाे भारी बाेकेर मालिक बनेका नाेर्बु (भिडियोसहित)



काठमाडौंमा यहीँ अवस्थामा भेटेकाे र नजिकबाट चिनेका ललितकलाका लेक्चर काेशल हमाल भन्छन्, 'म सुमन मल्ललाई "कलाकार सुमन" भनेर चिन्छु। उहाँ साँच्चिकै "शुमन" हुनुहुन्थ्यो। कलामा उदय हुनुभन्दा अगाडि उहाँले थुप्रै संघर्ष गर्नु भएको छ, कता बस्ने र कता खाने ठेगान नै हुँदैन थियो, काठमाडाैंमा', उनले भने, 'विभिन्न समस्याका बाबजुद पनि उहाँले आफ्नो कला र पत्रकारिता प्रतिको तृष्णालाई पछि पर्न दिनु भएन। कलालाई फ्रन्टलाइनमा राखेर आफ्ना व्यक्तिगत समस्यालाई लुकाउने र समाजको वास्तविक भोगाई देखाउने काम उहाँबाट भयो। समाजको भोगाई नै आफ्नो "आत्मचित्रण" हो भन्ने उहाँलाई राम्रो सँग थाहा थियो र त्यो उर्जा हाम्रो नयाँ पुस्तामा ग्रहण भएको छ।'

करिब डेढ दशकअघि काठमाडाैमा रंगकर्मी र पत्रकारकाे रुपमा बुझेका लेखक तथा विश्लेषक रामसिंह रावका अनुसार उनी मुगुमै बसेर कर्णालीकाे रंगिन भविष्य बनाउन लागिपरेका रंगकर्मी हिरा बिजुलीका समकालीन रंगकर्मी हुन्।

'मुगुबाट कर्णालीका यावत समस्या र सम्भावनाहरु नाटककाे र लेखनीकाे माध्ययबाट अगाडि ल्याउने एक उर्जवान र मिलनसार युवक थिए,' उनले भने, 'पछिल्लाे समय उनी मुगुलाई नै कर्मथलाे बनाएर बसेका थिए। उनकाे मृत्यु समग्र कर्णालीका लागि दुखद कुरा हाे।'

राजधानीमा चिरपरिचित रंगकर्मी मल्ल मुगुमा फर्किदासम्म एक निडर पत्रकार बनेका थिए। तथापि उनले कला माेह भने त्यागेका थिएनन्। उनी मुगुमै थिएटर बनाउन चाहन्थे। त्यसका लागि आफ्नै जग्गा दान पनि गरेका थिए। तर दुखद संयाेग, उनकाे सपना पूरा भएकाे छैन। हिराले उनकाे सपनालाई साथ दिदै थपे, 'हामी थिएटरका सपना देखेर राजधानी छाेडी मुगु फर्केका हाैं।'

अनि सुमनले जस्तै मुगुकाे कुनै अर्काे कलाकारले मुगुकै थिएटरमा भन्नेछ, 'म मुगुबासी पुन्न बहादुर विश्वकर्मा'

प्रकाशित मिति: : 2021-05-15 15:51:00

प्रतिकृया दिनुहोस्