अप्ठ्याराका सारथिहरू

शिलापत्र

काठमाडाैं

काठमाडौं उपत्यकासहित विभिन्न जिल्लाका अस्पतालमा कोरोना संक्रमितहरूले आईसीयू बेड, अक्सिजन र भेन्टिलेटर नपाएर ज्यान गुमाइरहेका छन्। तर, तिनै तहका सरकार निरीहप्राय देखिन्छन्। राजनीतिक दलहरू सत्ताकै गठजोडमा व्यस्त छन्। यस्तो बेला विभिन्न व्यक्ति, संघसंस्थाहरू भने बिरामी र अस्पतालका सारथि बनेर अगाडि आएका छन्।

‘काेही बिरामीको ज्यान बच्ला कि भनेर सहयोग गरेको हुँ’, ५० सिलिण्डर अक्सिजन लिएर महेन्द्रनगरस्थित महाकाली अस्पताल पुगेका आसेफ कुँवरले भने, ‘धेरै जना मिलेर यस्तो सहयोग गरियो भने झन् बढी मान्छे बचाउन सकिन्छ।’

उनी कञ्चनपुरको भीमदत्त नगरपालिका–१ का वडाध्यक्ष हुन्। गरिमा विकास बैंक महेन्द्रनगरका म्यानेजर राजन अवस्थीसँग मिलेर उनले ५० वटा सिलिण्डर महाकाली अस्पतालमा पुर्‍याइदिए।

संघ र प्रदेशले वास्ता नगरेपछि अस्पताललाई सघाउन आफूहरूले हातेमालो गरेको कुँवरले बताए। महाकाली अस्पतालमा अहिले दैनिक १ सय सिलिण्डर अक्सिजन आवश्यक पर्ने गरेको छ।

‘यी सिलिण्डरको निश्चित मूल्य छ। तर, यसले बाँच्न सक्ने जीवन अमूल्य छ’, महाकाली अस्पतालका कोभिड फोकल पर्सन डा. गोविन्द रोकायाले भने। गरिमा विकास बैंकका ब्रान्च म्यानेजर अवस्थीले भने, ‘यो सहयोग सेवा वा धर्म मात्र होइन, नागरिक दायित्व पनि हो। मान्छेलाई पर्दा मान्छेले साथ दिने हो।’

प्रकाशित मिति: : 2021-05-14 20:38:00

प्रतिकृया दिनुहोस्