ट्रमा सेन्टरमा मध्यराति अक्सिजन सकिँदा मच्चियो रुवाबासी (भिडियाे)

कमल प्रभात

काठमाडौं

जब घाम अस्ताएर साँझ पर्न थाल्छ, अनि वीर अस्पताल र ‘ट्रमा सेण्टर’ मा कार्यरत स्वास्थ्यकर्मीहरुको अनुहार उदाश र हताश हुँदै जान्छन्। दिउँसो त उज्यालोमा जे–जसो पर्ला, व्यहोर्दै जान्छन् तर साँझबाट रात छिप्पिँदै जाँदा उनीहरु उपायबिहीन बन्दै जान्छन्। 

अस्पताल परिसरमा बिरामीको बिजोग छ। शय्या छैन। भुइँमै पल्टिरहेका कोरोना भाइरस संक्रमित बिरामीलाई सास फेर्न गाह्रो भएको छ तर अस्पतालसँग अक्सिजन सिलिण्डर छैन। 

घरमा बिरामीलाई गाह्रो हुन थालेपछि जो–कोहीले पनि अस्पताल पु-याउने नै भए– आफन्तलाई। अस्पताल बिमारीले भरिभराउ भएका छन्। 
शय्या नभए भुइँमै राखेर भए पनि आखिर अस्पताल हो, ल्याइपु-याइएका बिमारीको जसोतसो उपचारका लागि राख्नै पर्यो किनकि अहिलेको अवस्था सामान्य होइन। 

अस्पतालमा शय्या छैन। नयाँ बेड थप्ने ठाउँ पनि छैन। बिरामीलाई सास फेर्न गाह्रो छ तर अस्पतालमा अक्सिजन पाइँदैन। यी र यस्ता समस्याले देशको एक मात्र केन्द्रीय अस्पताल– वीर र ट्रमा सेन्टरका बिरामी छट्पटाइरहेका छन्। बिरामीका आफन्त आत्तिएका छन्। अनि त्यहाँ कार्यरत स्वास्थ्यकर्मी र कर्मचारीहरुलाई यो दृश्य हेर्दै र बिरामीका आफन्तको दबाब झेल्दै रात काट्न हम्मे छ। 

बुधबार मध्यरातपछि (बिहीबार) करिब २ बजेको समय। ट्रमा सेण्टरका कोरोना संक्रमित बिरामी एकाएक छट्पटाउन थाले– अक्सिजन अभावले। एकपछि अर्को गर्दै बिमारीहरु छट्पटाउन थालेपछि ट्रमा सेण्टरभरि नै कोलहल मच्चियो। 

डाक्टर तथा नर्सहरुको भागदौड नै चल्यो। बिमारी कुरुवाहरुमाझ रुवाबासीनै मच्चियो। आइसीयुमा समेत अक्सिजनको अभाव भएपछि नर्सहरु आफै अक्सिजनको खोजीमा दौडधुपमा लागे। 

ट्रमामा खटिएका स्वास्थ्यकर्मीले फोन गरेका गर्यै थिए– अक्सिजन चाहियो भनेर  तर अक्सिजन सहजै पाइने अवस्था थिएन किनभने अस्पतालसँग आवश्यक मात्रामा  अक्सिजन नै थिएन। त्यसको अघिल्लो रात पनि ट्रमा सेण्टरमा त्यस्तै कोलहल मच्चिएको थियो। 

कोरोनाका गम्भीर बिरामीको सङ्ख्या बढेसँगै अक्सिजनको अभाव हुन थालेको छ जसका कारण संक्रमितले उपचारबिनै ज्यान गुमाउनुपर्ने अवस्था सिर्जना हुन थालेको छ। अक्सिजन नभएकै कारण ट्रमा सेन्टरमा उपचार गर्न भर्ना भएका संक्रमितको कतिबेला प्राणपखेरु उड्ने हो, कुनै पत्तो छैन। अक्सिजनको अभावकै कारण संक्रमितको ज्यान जाने गरेको बिरामी कुरुवाले बताएका छन्। 

अस्पताल व्यवस्थापनका अनुसार, त्यहाँ करिब दुई सय कोरोना संक्रमित उपचारका लागि भर्ना भएका छन् जसमा अधिकांश अक्सिजनबिना उपचार गर्न नमिल्ने अवस्थाका गम्भीर बिरामी छन्। 

केही समयका लागि अस्पतालमा अक्सिजन भए पनि आझै साँझसम्म फेरि समस्या आउन सक्ने अस्पतालले जनाएको छ।

सरकारले उपचारको लागि अक्सिजन प्रयाप्त भएको बताएपनि सिलिन्डरको अभाव र व्यवस्थापन राम्रो नहुँदा संक्रमितले ज्यान गुमाउनुपरेको छ।

अहिले काठमाडौंका केही अस्पतालले अक्सिजनको अभाव भएको भन्दै कोरोना संक्रमितलाई अस्पताल भर्ना गर्न मानेका छैनन्। 

प्रकाशित मिति: : 2021-05-13 19:06:00

प्रतिकृया दिनुहोस्