अक्सिजनको हाहाकार : ‘अस्पतालले अक्सिजन छैन भनेर पठायो, हामीलाई आमाले छाडेर जानुभो’

शिलापत्र

काठमाडौँ

 दिनेश गौतम

काठमाडौं जोरपाटीकी ६४ वर्षीया उमादेवी पुडासैनीलाई असहज भयो । तत्काल उनले अस्पताल लैजान छोराहरूलाई विलाप गरिन् । घर नजिकै थियो, नेपाल मेडिकल कलेज । केही दिनअघिदेखि उनलाई सामान्य रुघाखोकीले च्यापेको थियो । लक्षण कोभिडसँग मिल्दोजुल्दो थियो । छोराहरूले तत्कालै उनलाई मेडिकल कलेजमा पुर्‍याएर पीसीआर परीक्षण गराए । अन्तत: उनको रिपोर्ट आयो, पोजिटिभ ।

‘अस्पताल पुर्‍याउँदा पुर्‍याउँदै आमाको शरीर थप शिथिल भइसकेको थियो’, उमादेवीकी छोरा नविन भन्छन्, ‘अस्पतालले अक्सिजन छैन । भर्ना गर्न सक्दैनौं । बिरामी लैजानुहोस् भन्यो ।’ कतै राखिहाल्छ कि भन्ने आशमा आमालाई उनले मेडिकल कलेजको चौरमै दुई घण्टा राखे तर अस्पतालले भर्ना लिएन । आमा चौरमै छटपटिन थालेपछि नविनको दाजुभाइले अरु अस्पतालमा अक्सिजन र बेडको तलास गर्न लागे । 

‘सिभिल, ह्याम्स, निदान सबै अस्पतालमा बेड र अक्सिजका लागि फोन गर्‍यौं, कतै  मिलेन । अस्पतालहरूले अर्को बिरामी डिस्चार्ज भएपछि खबर गर्छौं भने’, उनी भन्छन्, ‘अक्सिजन र बेड नपाएपछि आमालाई घरमै ल्यायौं । आफन्तकोमा एउटा अक्सिजन रहेछ त्यही प्रयोग गर्‍यौं ।’ उमादेवीलाई हाइफ्लो अक्सिजन र आईसीयू चाहिने थियो । तर, उनले अक्सिजन र आईसीयू नपाएपछि रोगले च्यापेको २४ घण्टा नबित्दै घरमै अन्तिम सास फेरिन् । ‘अस्पतालले अक्सिजन र बेड छैन भनेर पठायो, हामीलाई आमाले छोडेर जानु भो’, स्तब्ध हुँदै नविन भन्छन्, ‘यस्तो होला भनेर सोचेको पनि थिएनौं ।’

प्रकाशित मिति: : 2021-05-13 18:55:00

प्रतिकृया दिनुहोस्