रवीन्द्र घिमिरे
कोरोनाका बिरामीले अस्पताल भरिभराउ छन् । बेड मात्रै होइन, छिंडी र पिंढीमा पनि ठाउँ खाली छैन । आईसीयू र भेन्टिलेटर त झन् खाली हुने कुरै भएन । बेड, आईसीयू, भेन्टिलेटर खाली नभएपछि नयाँ संक्रमितले उपचार पाउन मुस्किल जस्तै भएको छ । अक्सिजनको अभाव भएपछि अस्पतालले नयाँ बिरामी भर्ना लिन सकेका छैनन् ।
जसका कारण मृत्युदर उच्च बन्दैछ । यो कहालीलाग्दो अवस्थामा संक्रमितलाई उपचार दिलाउन के उपाय अपनाउन सकिन्छ त ? यसबारे अहिलेसम्म सरकारले छलफल नै थालेको छैन । बरु सत्ताको खेलमा सरकार रुमल्लिएको छ । जनताको जीवनभन्दा राजनीतिक जित–हारको जोड–घटाउमा राजनीतिक दलहरू लिप्त छन् ।
जनताले सास फेर्न अक्सिजन नपाएर छट्पटिंदा पनि सरकार बरु यो समयमा उद्घाटनका कार्यक्रमहरू तय गर्दैछ । शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओली निर्माण नै नसकिएको तीन हजार व्यक्ति अट्ने क्षमताको सभाहल उद्घाटन गर्ने तयारीमा छन् ।
नाम उल्लेख नगर्ने शर्तमा एक सरुवा रोग विशेषज्ञ यो सभाहल उद्घाटनको समय नभएको बताउँछन् । ‘प्रयोग गर्न मिल्ने हो भने त्यसलाई कोभिड–१९ को उपचार केन्द्रका रूपमा उद्घाटन गरे प्रधानमन्त्रीको दायित्व र मानवीयता देखिन्थ्यो,’ उनले भने, ‘हजारौं अटाउने सभाहल महामारीमा सम्मेलन गर्न काम आउँदैन, बरु त्यहाँ अक्सिजन र बेड राखेर उपचार थालौं ।’
सरुवा रोग विशेषज्ञ डा. अनुप सुवेदी महामारीमा सरकारले नै भिडभाड बढाउने गरी उद्घाटनका समारोह गर्नेभन्दा नागरिकको जीवन रक्षा गर्ने हस्तक्षेपकारी कदम चाल्न सुझाव दिन्छन् ।
शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल टेकुका सरुवारोग विशेषज्ञ डा. शेरबहादुर पुन अझै पनि हालको संकटलाई व्यवस्थापन गर्न सकिने बताउँछन् । ‘यसअघि हामी महामारीबाट बच्ने अभियानमा थियौं, अब हामी संक्रमितको ज्यान बचाउने गरी महामारीविरुद्ध होमिनुपर्ने बेला आएको छ,’ उनले भने, ‘यो समयमा संक्रमितको ज्यान बचाउन हामीले गर्न सक्ने अरू धेरै उपाय होलान्, तर म चाहिं मूल रूपमा ठूला अस्थायी उपचार केन्द्र खोल्नुपर्ने देख्छु ।’