यही वैशाख २७ गते अल्पमतमा परेपछि प्रधानमन्त्री केपी ओलीको प्रधानमन्त्रीत्व र उनको नेतृत्वमा रहेको वर्तमान कम्युनिष्ट सरकारको पर्दा गिरेको छ।
वास्तविक नाटकमा यस्तै हुन्छ। एउटा दृश्य समाप्त हुन्छ, पर्दा झर्छ, फेरि उठ्छ र अर्को दृश्यको मञ्चन हुन्छ। पात्र, स्थान र विषय तथा घटना सबै नयाँ हुनसक्छन् वा सन्दर्भ अनुसार केही। यसरी अर्को, अर्को दृश्य हुँदै नाटक अघि बढ्छ।
सेक्सपियरले जीवनलाई नाटकै भनेका छन्। तर, के जीवनका निमित्त जीवन नै मिलेर जीवनद्वारा नै चल्ने लाखौँ करोडौँ जीवनको जीवन–मरण, उत्थान–पतन, आँसु र हाँसोको कारक राज्यको गति क्रम पनि नाटकसँग तुल्य हुन्छ र ?
करोडौं जीवनको आपसमा आबद्ध समष्टिलाई नै भौगोलिक दृष्टिले देश, भावनात्मक दृष्टिले राष्ट्र र राजनीतिक वा वैधानिक दृष्टिले राज्य भनिन्छ। तर, यसका पात्र तथा यसले गर्ने गतिविधि नाटक हुँदैन। जुन क्षणिक हास-परिहास र मनोरञ्जनका निमित्त मात्र मञ्चन गरिन्छ। यद्यपि, नाटक र राज्य संचालनबीच कतिपय समानता रहन सक्छन्।
नाटकमा जस्तै राज्यको पनि गतिक्रममा पात्रहरू आउँदै–जाँदै रहन्छन्। घटनाहरू हुँदै रहन्छन्। पर्दा झरे–उठेजस्तै क्रमिक दृश्य परिवर्तन भइरहन्छन्।