निजी अस्पतालमा अक्सिजनको हाहाकार, मन्त्रालयले भन्यो- १५ दिनभित्र आफैं अक्सिजन प्लान्ट जोड्नू

सेतोपाटी

काठमाडाैं

निजी अस्पतालले अक्सिजन हाहाकार भएको भन्दै संक्रमितको उपचार गर्न नसकिने भनेर हात उठाएको बेला सरकारले ती अस्पताललाई १५ दिनभित्र अक्सिजन प्लान्ट जोड्न निर्देशन दिएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार बसेको बैठकले सय बेडमाथिका निजी अस्पतालले १५ दिन भित्र आफैं अक्सिजन प्लान्ट जोड्नुपर्ने गरी निर्णय भएको प्रवक्ता डा. जागेश्वर गौतमले सेतोपाटीलाई जानकारी दिए। ‘अहिले निजी अस्पताललाई समस्या भयो भनेरै आज मन्त्रालयले सय बेड वा त्योभन्दा माथिका निजी अस्पतालले १५ दिनभित्र अक्सिजन प्लान्ट जोड्नू भनेर निर्णय गरेको छ,’ उनले भने।

गौतमले धेरै सरकारी अस्पतालहरूमा पनि अक्सिजन प्लान्ट रहेको भन्दै अब निजीले पनि आफैं अक्सिजन प्लान्ट जोड्नुपर्ने बताए। उनले भने, ‘अस्पताल चलाउने भनेपछि एउटा प्लान्ट त राख्नुपर्‍यो नि। यस्तो महामारीमा त अफ्ठ्यारो पर्दौ रैछ नि।’

बरू ती अस्पतालहरूले प्लान्ट ल्याउन कुनै अफ्ठ्यारो परे त्यसमा मन्त्रालयले सहजिकरण गर्ने प्रवक्ता गौतमले जनाए। केही दिनयता काठमाडौंका निजी अस्पतालहरूले अक्सिजनको हाहाकार भएको भन्दै संक्रमितको उपचार गर्न हात उठाएपछि मन्त्रालयले यस्तो निर्णय गरेको हो।

प्रकाशित मिति: : 2021-05-12 17:05:00

प्रतिकृया दिनुहोस्