माधव नेपाल निर्णायक, जसपा दोधारमा

थाहा खबर

काठमाडौँ

काठमाडौं : राष्ट्रपतिले नयाँ सरकार बनाउन आह्वान गरेपछि प्रतिपक्षी दलका नेताहरूबीच यतिबेला दौडधूप चलेको छ।  

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' र जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष अध्यक्ष उपेन्द्र यादव नयाँ सरकार बनाउन लागिपरेका हुन्।

उनीहरुको यो प्रयास सफल हुन नसके एमाले अध्यक्ष केपी शर्मा ओलीकै नेतृत्वमा सरकार बन्ने वा देश निर्वाचनमा जाने स्थिति आउनसक्छ।

अहिले जसपाका अर्का अध्यक्ष महन्थ ठाकुर नयाँ सरकार बनाउने पक्षमा देखिएका छैनन्। गठबन्धन सरकार निर्माणमा निर्णायक भूमिकामा देखिएको जसपा भित्रको विवादले देउवा–प्रचण्डलाई ओलीविरुद्ध सरकार बनाउन सकस परिरहेको छ। प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत दिने संसद्‌ बैठकमै पनि महन्थ ठाकुर र उपेन्द्र यादवबीच फरक मत देखिएको थियो।

जसपा संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराई र अध्यक्ष यादव नयाँ सरकारको पक्षमा उभिएपनि अर्का अध्यक्ष ठाकुर भने तटस्थ बस्ने अडानमा छन्। सोमबार ओलीले विश्वासको मत लिने क्रममा पनि उनी तटस्थ रहे। 

अर्का अध्यक्ष यादवले भने देउवा र प्रचण्डसँग मिलेर संसदको बैठक सकिनासाथ राष्ट्रपति समक्ष नयाँ सरकार बनाउने बाटो खोल्नका लागि पत्र पठाएका थिए। तर, ठाकुरले भने मध्यरातमा जसपा नयाँ सरकारको पक्षमा नरहेको भन्दै विज्ञप्ति निकाले। 

ठाकुरले अर्का अध्यक्ष यादवको निर्णय पार्टीगत नभएर व्यक्तिगत भएको भन्दै राष्ट्रपति कार्यालयलाई समेत पत्र पठाएका छन्। 

बल फेरि माधव नेपालको कोर्टमा

एमाले नेता माधवकुमार नेपाल समूहले नै ओलीको सत्तामा संकट ल्याउन मुख्य भूमिका खेलेको थियो। आफ्नो अडानबाट हत्तपत्त 'ब्याक' नहुने नेपालले पार्टीभित्र विधि र पद्धतिको कुरा गरिरहेका छन्। 

ओलीले नेकपाको एकता भंग भएपछि पनि नेपाल समूहलाई छलेर एकलौटी निर्णय गरिरहे। ओलीसँगको विवादले एमालेमै रहेर फरक पार्टीको अभ्यास गरिरहेको नेपाल समूह निर्णायक भूमिकामा देखिरह्यो। 

कर्णाली प्रदेशमा ‘फ्लोर क्रस’ गरेर माओवादी केन्द्रका मुख्यमन्त्री जोगाएको नेता नेपाल समूहले केन्द्रमा पनि उस्तै राजनीति खेल्यो। ओलीले विश्वासको मत लिँदै गर्दा बैठकमा अनुपस्थित भइदिए। फलतः ओलीले आफ्नै दलबाट पनि विश्वासको मत पाएनन्।

प्रकाशित मिति: : 2021-05-12 10:54:00

प्रतिकृया दिनुहोस्