विष्णु थापा। काठमाडौं / शंकरप्रसाद खनाल। नेपालगन्ज / अनिल ढकाल। चितवन / ईश्वरकाजी खाइजू। भक्तपुर/ किशोर बुढाथोकी। विराटनगर / क्रान्ति शाह। वीरगन्ज :
कोरोना भाइरस संक्रमणबाट हुने मृत्युदर अत्यधिक बढेको छ। पछिल्लो २४ घण्टामा मंगलबार २ सय २५ जनाले ज्यान गुमाएका छन्। सोमबार यो संख्या १ सय ३९ थियो। संक्रमितको शव व्यवस्थापनमा नेपाली सैनिकहरू खटिएका छन्। जसले शवको व्यवस्थापन मात्रै होइन, अन्तिम सलामीसमेत अर्पण गर्छन्।
पशुपति क्षेत्रस्थित विद्युतीय शवदाह गृहमा आइपुग्ने आफन्तले अन्तिम अवस्थामा पनि सोध्छन्– ‘एकपटक मृतकको अनुहार हेर्न मिल्दैन ?’ त्यस बेला शव व्यवस्थापनमा खटिएका सैनिक भावविह्वल हुन्छन्। मन भक्कानिन्छ तर सहनै पर्छ। रोगै यस्तो ! सुरक्षित रूपमा पोको पारिएको शव खोल्न मिल्दैन।
सानोतिनो गल्ती र असावधानीले पनि आफैं संक्रमित हुने जोखिम रहन्छ। आफ्नै ज्यान जोखिममा राखेर ज्यादै चुनौतीपूर्ण काम गर्दै आएका छन्, नेपाली सैनिकले। नेपाली सेनाले सबै निकायको सहयोग र सहकार्यमा कोभिड–१९ शव व्यवस्थापन कार्यविधिअनुसार काम गर्दै आएको सैनिक प्रवक्ता सहायक रथी सन्तोषबल्लभ पौडेलले बताए।
‘नेपाल सरकारले सेनालाई दिएको एउटा महत्वपूर्ण जिम्मेवारी हो। यो जिम्मेवारीलाई सबै निकायको सहयोग र सहकार्यमा सेनाले पूर्णरूपमा पूरा गर्दै आएको छ’, सैनिक प्रवक्ता पौडेलले भने, ‘धार्मिक, सांस्कृतिक तथा परम्परागत मूल्यमान्यतालाई आदर र सम्मान गर्दै काम गरिरहेका छौं।’
मोरङमा सीमित साधनस्रोतका कारण दिनभर पानीसमेत नपिई सैनिक जवान यो काममा खटिएका छन्। तर, कपितय शव घाट पुर्याइसक्दा कुनै बेला चितासमेत तयार हुँदैन। मृतकबाट संक्रमण फैलन नदिन जतिसक्दो चाँडो शव व्यवस्थापन गर्नुपर्ने हुन्छ। पर्सामा पनि पीपीई सेट र शव पोको पार्ने झोलाको अभाव हुन थालेको छ। यद्यपि, पूर्ण सावधानीका कारण कोही जनशक्ति संक्रमणमा परेका छैनन्।
चितवनमा खटिएका सैन्य अधिकारी भन्छन्– ‘हामी देशको खम्बा भएर बसेका छौं। खम्बा नै पछि हट्यो भने के काम लाग्यो र ? सेवा गर्न पाउनु संस्था र व्यक्तिका लागि गर्वको कुरा हो।’
कोरोनाको डरभन्दा पनि राज्यले दिएको जिम्मेवारीलाई ठूलो मानेको बाँकेमा खटिएका सैनिकको भनाइ छ। ‘हामीले गर्नै पर्छ। सेनाले नगरे कसले गर्छ ? हामीबाहेक अरू कोही पनि छैन भनेर दिएको काम स्वास्थ्य मापदण्ड पालना गर्दै पूरा गरेका हौं’, ती सैनिकले भने।
काली दल एयरपोर्टका उपसेनानी उज्ज्वलवरसिंह थापा कोरोनाको पहिलो लहरमा कमान्डरका रूपमा शव व्यवस्थापनमा खटिएका थिए। थापा अहिले पनि त्यही भूमिका निर्वाह गरिरहेका छन्। उनी २०–२५ पटक यो काममा खटिएका छन्।
पहिलो पटक शव व्यवस्थापनमा खटिँदा डर लागेको अनुभव थापाले सुनाए। ‘पहिलो पटक यो काममा खटिँदा मनमा डर थियो। आफू पनि संक्रमित हुने त होइन भन्ने द्विविधा पनि थियो’, उनले भने, ‘अझ आफन्तको शोक देख्न आफूलाई पनि नरमाइलो लाग्थ्यो। काम गर्दै जाँदा बानी पर्दै गयो। अहिले सामान्य लाग्छ।’