ओली गए, ओली आउन सक्छन्

शिलापत्र

काठमाडौं

आफ्नै पार्टीसमेतका सांसदले विश्वासको मत नदिएपछि केपी ओली नेतृत्वको सरकार ढलेको छ। ओली अहिलेसम्मकै सबैभन्दा बढी समय सरकार चलाउने निर्वाचित प्रधानमन्त्रीका रूपमा गिरिजाप्रसाद कोइरालापछि दोस्रो हुन गएका छन्। उनी तीन वर्ष दुई महिना सिंहदरबार रहेका छन्। यो बेग्लै कुरा हो, उनले अधिकांश समय बालुवाटारको सरकारी निवासबाटै शासन चलाए। हुन त कोइराला पनि त्यस्तै थिए।

फस्टम्यान, अझ राष्ट्रको प्रमुख कार्यकारीका रूपमा देखाउनुपर्ने लचकता र विनयशीलता देखाउन सकेका भए ओली पाँचै वर्ष कुर्सीमा हुने थिए। विगतमा उनलाई प्रधानमन्त्री बन्न सघाएका तत्कालीन नेकपा अध्यक्ष प्रचण्डले आलोपालो सत्ता–सहमतिको दाबी जो छाडिसकेका थिए। माधव नेपाल त लाइनमै थिएनन्। ओली एक किसिमले प्रतिस्पर्धीविहीन थिए।

सनकमा विघटन गरेको संसद् पुनर्स्थापित भएयता ओली नयाँ बानेश्वर टेकेका थिएनन्। आज २७ वैशाखका दिन रोष्ट्रममा उभिएर दुईपल्ट बोल्दैगर्दा उनको हास्यचेत गायब थियो। उनी कडा आवाजमा पेस भइरहेका थिए। एकपल्ट त मास्क नै बदले। शीर्षनेताहरूमध्ये संसदीय संस्कार बढ्ता बुझ्ने ठानिएका उनले प्रयोग गरेका कतिपय शब्द संसद्‌को रेकर्डबाट मेटाउन मिल्ने खालका थिए।

दुर्भाग्य ! उनले आफूलाई विश्वासको मत दिएमा संसद्‌को आयु लम्बिने टिप्पणी गरे। अर्थात् पेटबोली थियो, नत्र जे पनि हुन सक्छ।

प्रकाशित मिति: : 2021-05-10 19:39:00

प्रतिकृया दिनुहोस्