राष्ट्रपतिको परीक्षा

बाह्रखरी

काठमाडौं

कुनै चमत्कार नभए प्रधानमन्त्री खड्गप्रसाद ओलीले विश्वासको मत नपाउने स्पष्ट देखिइसकेको छ । त्यसपछि देशले लिने दिशाको निर्धारणमा धेरै हदसम्म राष्ट्रपति विद्यादेवी भण्डारीको भूमिका निर्णायक हुने देखिन्छ । 

नेपालको संविधान, २०७२ मा  विशेष भूमिका दिइएकाले राष्ट्रपति निर्णायक हुनसक्ने भने होइन । यस्तै, संसदीय अभ्यासमा अन्योल हुने भएकाले पनि राष्ट्रपतिको तजबिज निर्णायक हुने देखिएको पनि होइन ।

नैतिक दायित्व पटक्कै नलिने र सत्तामा रहन संविधान, लोकतान्त्रिक मूल्यमान्यता मिच्न पटक्कै नहिचाउने खड्गप्रसाद ओली प्रधानमन्त्री छन् । अनि राष्ट्रपति भण्डारीले उनका असंवैधानिक कदममा समेत साथ दिँदै आएकी छन् । यसैले उनको भूमिकाप्रति सबैको ध्यान गएको हो । 

अल्पमतमा परिसकेपछि पनि सरकारमा बसिरहन प्रधानमन्त्री ओलीलाई राष्ट्रपतिले संविधान र लोकतान्त्रिक मूल्य तथा संसदीय अभ्यासका अक्षर एवं भावनाविपरीत साथ दिने सन्देह सामाजिक सञ्जाल र सञ्चार माध्यममा प्रकट भइरहेको छ । लुम्बनी प्रदेशमा भएको कलङ्कित अभ्यास दोहोरिने सन्देह निराधार पनि त छैन ।  

नियतिले राष्ट्रपति भण्डारीलाई उनले सम्भवतः कहिल्यै नचिताएको जिम्मेवारी दिएको छ । तर, राष्ट्रपतिका रूपमा विद्यादेवी भण्डारीले अहिलेसम्म ‘संविधानको पालना र रक्षा’गर्ने आफ्नो धर्मप्रति न्याय गर्नसकेको देखिएको छैन ।

प्रकाशित मिति: : 2021-05-10 15:11:00

प्रतिकृया दिनुहोस्