रन्जित तामाङ
बेलायत भ्रमणबाट फर्किएपछि श्री ३ जंगबहादुरले देशमा केही नयाँ काम गरे । ती नयाँ काममध्ये जहाँनियाँ शासनको रवाफ र आफ्नो अमरत्वका लागि सार्वजनिक महत्त्वका स्थानमा नामाङ्कन र सालिक निर्माण गर्ने पनि एक हो ।
इतिहासका शासक जंगबहादुरको जस्तै अमरत्वको धङधङी उनका भाइभारदारमा पनि प्रशस्त देखिन्थ्यो । त्यो बेला कतिपय सार्वजनिक स्थलहरूमा बडेमानका प्रतिमाहरू बनाइए । सजीव इतिहासलाई छोडेर तिनै निर्जीव प्रतिमाहरूलाई आज पनि हामी परिक्रमा गर्न बाध्य छौँ ।
राजामहाराजाहरू झन् के कम, उनीहरूमा त अझ बढी अमरत्वको उत्कण्ठा थियो । जसको परिणामस्वरुप आज पनि यत्रतत्र सर्वत्र बडेमानका सालिक ठडिइनै रहेको हामीले देख्न सक्छौँ । त्यति मात्रै होइन, बाटोका नामकरण पनि गरिएका छन् ।शिक्षालयमा नामाङ्कित भएका छन् । तर, नामांकित व्यक्तिकै खराब इतिहास त्यहीँ पढिन्छ, पढाइन्छ ।
राणा शासन अन्त्य भएको करिब आठ दशकपछि, राजतन्त्र संग्रहालयमा थन्किएको डेढ दशकपछि अहिले देशमा फेरि त्यो प्रवृत्तिको पुनरावृत्ति भएको आभास हुँदै छ ।
भनिन्छ, इतिहासको पुनरावृत्ति हुँदैन, विकास हुन्छ । तर, नेपालको राजनीतिको शासकीय प्रवृत्तिमा जंगबहादुरको अमरत्वको धङधङी पुनरावृत्ति भएको आभास हुन्छ । 'सैनिकसँग नभिडी, सामन्तलाई नगिँडी आउँदैन जनवाद भाषण ठोकेर' भन्नेहरू, मान्नेहरू आज राजामहाराजाका नक्कल मात्र गरिरहेका छैनन्, अमरत्वको उत्कट अभिलाषा पालेर शिलालेख, शिलापत्र, अनावरण, उद्घाटनका सस्ता प्रचारमा सफलताको आत्मरति लिइरहेका छन् । र, तिनका 'बा' पन्थी चाटुकारहरू श्री ३ का भाइभारदारको पदचापमा गर्व गरिरहेका छन् ।