गत डिसेम्बरमा बेलायतकी ९१ वर्षीया आमै मार्गरेट केननले कोरोनाविरुद्ध खोपको औपचारिक थालनी गरी खोप लगाउने विश्वकै पहिलो व्यक्ति भइन्। त्यसपछि विश्वभरिका अन्य देशहरुले आफ्ना नागरिकलाई धमाधम कोविड–१९ विरुद्ध खोपको खुराक लगाउन सुरु गरे।
मार्च २७ मा खोप अभियान सुरु गरेको भुटानले भने विकसित राष्ट्रलाई समेत उछिन्दै दुई साताभित्रै आफ्नो खोप लगाउन योग्य जनसङ्ख्याको करिब ९३ प्रतिशत नागरिकलाई खोप लगाउन सफल भएको छ।
भारत र चीनबीच अवस्थित सानो भूपरिवेष्ठित देश हो– भुटान। यहाँको जनसंख्या करिब सात लाख ५० हजार मात्रै छ। संसारमा करिब डेढ वर्षअघि देखापरेको कोरोना महामारीबाट करिब १६ करोड जनसङ्ख्या सङ्क्रमित भइसकेको विश्व स्वास्थ्य सङ्गठनको तथ्याङ्क छ। त्यसमध्ये करिब ३३ लाखको मृत्यु भइसकेको छ। करिव दुई करोड जनसङख्या अहिले सक्रिय सङ्क्रमित छन्।
दक्षिण–पूर्वी एसियाको अल्पविकसित देश भुटानमा भने हालसम्म जम्मा १ जनाको मात्र कोरोना भाइरस सङ्क्रमणबाट मृत्यु भएको छ। त्यहाँ कुल एक हजार दुई सय दुई जनामा मात्र यो भाइरसको संक्रमण भेटिएको छ। सहित भने १०६५ निको भएका छन। अहिले १३६ जना सक्रिय सङ्क्रमित रहेको 'वर्ल्डमिटर' को तथ्याङ्क छ।
अहिले संसार दोस्रो लहरको कोरोना भाइरससँग जुधिरहेको छ। विश्वभरिका सबै देशका सरकारहरु कसरी आ-आफ्ना नागरिकलाई चाँडोभन्दा चाँडो कसरी खोप दिएर सुरक्षित बनाउने भन्ने चिन्ताले खोप अभियानमा लागिपरेका छन्। उनीहरु सकेसम्म भएभरको स्रोत, प्रविधि र जनशक्तिको अधिकतम परिचालन गरिरहेका छन्।
यही मौकामा एसियाको सानो देश भुटानले भने चुपचाप दुई सातामै आफ्ना अधिकांश खोप लगाउन योग्य नागरिकलाई खोप दिएर बेलायत र अमेरिकाभन्दा पनि खोप दिनमा अगाडि रहेको सावित गरिसकेको छ। यो दक्षिण एसियाको शक्तिराष्ट भारतभन्दा सातगुणा र विश्वको औसतभन्दा छ गुणा बढी हो। भुटानले भारतको सिरम कम्पनीबाट उत्पादित कोभिसिल्ड भ्याक्सिन लगाएको हो जो भारतले छ लाख मात्रा नि:शुल्क उपलब्ध गराएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।
भुटानलाई कोरोनाबाट जोगाउन कसरी सम्भव भयो त? कोरोना सङ्क्रमण हुन थालेसँगै भुटानले सिमानामा कडाइ गर्यो। अन्तर्राष्ट्रिय सिमाना एक वर्षसम्म बन्द गरिदियो। उसले देशभित्र आएका सबै व्यक्तिहरुलाई अनिवार्य २१ दिन क्वारेन्टाइन बस्ने नियम कडाइका साथ लागू गर्यो।
सबै शिक्षण संस्थाहरू बन्द गरिए। कोविड-१९ प्रोटोकोलहरू पालनाको कडा अनुगमन पनि गरेको स्वास्थ्य मन्त्रालयका सचिव, डा. पाण्डुप छिरिङले 'द हिन्दु' लाई बताएका छन्।
भुटानमा विशाल खोप अभियानअन्तर्गत देशभरिका एक हजार दुई सयभन्दा बढी स्थानबाट खोप वितरण गरिएको थियो।
भुटानको स्वास्थ्य मन्त्रालयले तीन हजार तीन सय स्वास्थ्यकर्मी र चार हजार चार सय नागरिक स्वयम्सेवकलाई खोप अभियानमा देशव्यापीका रूपमा परिचालित गरिएको थियो।
भुटानमा मार्चको अन्तिम सातादेखि अप्रिलको पहिलो सातासम्मको अवधिमा त्यहाँका करिव ९३ प्रतिशत नागरिकलाई खोप लगाइसकिएको सञ्चारमाध्यमहरुले जनाएका छन्। यसरी आइसल्याण्ड र माल्दिभ्सलगायत थोरै जनसंख्या भएका साना देश र अन्य भौगोलिक रूपमा पृथक भएका देशहरूभन्दा पनि अगाडि भयो भुटान।
भुटानको अत्यधिक सफल खोप अभियानको मुख्य श्रेय राजनीतिक नेतृत्वलाई जान्छ जसले यसको महत्त्व सुरुमै बुझिसकेका थिए। 'द इन्डियन एक्स्प्रेस' लाई उद्धृत गर्दै भुटानका स्वास्थ्यमन्त्री दाशो डेचेन वाङ्मोले यसको सफलतालाई 'आफ्ना राजाको नेतृत्व र मार्गदर्शन', सार्वजनिक ऐक्यबद्धता, भ्याक्सिनप्रति निशङ्कोच विश्वास गर्नु र प्राथमिक स्वास्थ्य सेवा प्रणालीमा जिम्मेवार रहनु सफलताको मुख्य कडी रहेको बताए।
राजनीतिक नेतृत्वको इच्छाशक्ति, दूरदर्शीता, जनताप्रति जवाफदेहीपन र गफभन्दा काममा ध्यान दिएकाले छोटो समयमै भुटानले आफ्ना नागरिकलाई कोरोनाविरुद्ध खोप लगाएर संसारलाई चकित तुल्याइदिएका छन्।
अहिलेसम्म संसारका ८१ देशले खोप पाउन सकेका छैनन्। संसारका अधिकांश देशको नेतृत्व भने नागरिकप्रति संवेदनशील हुनुको साटो राजनैतिक खिचातानी र खोप–राजनितिमा रुमल्लिरहेका छन्।
- एजेन्सीहरुको सहयोगमा