बाँकेको वैजनाथ गाउँपालिका–१ की ३७ वर्षीया महिलालाई २०७३ साउनमा कुष्ठरोग लाग्यो। स्थानीय स्वास्थ्य चौकीबाट औषधि ल्याएर लगातार २४ महिना सेवन गरिन्। रोग त निको भयो। तर, त्यो अवधिमा उनले कुष्ठरोगभन्दा ठूलो रोग झेलिन्– दाजुभाउजूबाट विभेद।
‘जुन दिन मलाई रोग लाग्यो भन्ने थाहा भयो। मलाई छाउपडी गोठमा बस्न पठाइदिए’, उनले हालै भनिन्, ‘नछुने हुँदा भाउजूहरू र म पहिले त्यही गोठमा सुत्थ्यौं। म रोगी भएपछि त्यहीं बसें।’
कर्णाली र सुदूरपश्चिम प्रदेशमा छाउगोठ भत्काउने अभियान चलिरहँदा यता कुष्ठरोग लाग्दा पनि छाउगोठमा बस्न बाध्य भइन्। ‘कुष्ठरोगको औषधि पहिलो पटक खाँदा नै रोग सर्दैन भनेर सरहरूले भन्नुभएको कुरा मैले दाजुभाउजूलाई सुनाएँ। तर, विश्वास नै गरेनन्’, उनले भनिन्।
एक दिन भात छोएको दिनको घटना उनले सम्झिन्, ‘कान्छी भाउजू बासी भात तताएर खाने भनेर आगोमा बसालेर बाहिर जानुभयो। जल्न लाग्यो भनेर मैले चलाएँ। मैले छोएको भनेर भाउजू खाना नखाएरै सुत्नुभयो। त्यस दिनदेखि मलाई भतिजाभतिजीभन्दा टाढा बस्न भनियो।’