बाहिर चिटिक्क, भित्र जनशक्ति शून्य, करोडौँका उपकरण प्रयोगविहीन

थाहा खबर

जनकपुरधाम 

अजय साह

कोरोना महामारीको पहिलो चरणको बेला करोडौं खर्च गरेर जडान गरिएको महोत्तरीको जलेश्वर अस्पतालको उपकरण प्रयोगविहीन बनेका छन्।

जलेश्वर अस्पतालले भेन्टिलेटरसहितको पाँच बेडको आइसियु सञ्चालनमा ल्याएको छ। प्रदेश २ सरकारको सामाजिक विकास मन्त्रालयको आर्थिक सहयोगमा पाँच बेडको भेन्टिलेटर सेवा सुरु भएको हो। भेन्टिलेटर राखिए पनि दक्ष जनशक्ति अभावले सबै उपकरण प्रयोगविहीन अवस्थामा छन्।

प्रदेश सरकारले गतवर्ष कोरोना महामारीको पहिलो लहरकै बेला जलेश्वरस्थित जिल्ला अस्पताललाई कोभिड विशेष अस्पताल रुपमा विकास गर्न ८ करोड रुपैयाँ लगानी गरी उपकरण तथा भौतिक पूर्वाधार तयार गरे पनि जनशक्ति अभावमा ती उपकरण प्रयोगविहीन भएपछि संक्रमितहरु उपचारका लागि भौतारिन बाध्य छन्।

कोरोना भाइरस नियन्त्रण र उपचारमा सहजता निम्ति ५० शैय्याको कोभिड विशेष अस्पताल संचालन गर्न दुई करोड ५५ लाख ५२ हजार रुपैयाँको लागतमा पाँच थान भेन्टिलेटर, शैय्या, मनिटर, इकोलगायतका आइसियु सेटका उपकरण जडान गरिएको छ।

अस्पतालका मेसु डा. शतिश साहले भने, ‘गत वर्ष पनि कोरोना महामारीका बेलामा भेन्टिलेटर र आइसियु सञ्चालन गर्न दक्ष जनशक्ति नपाएर उपकरण प्रयोगमा ल्याउन सकिएन। वर्षभरि नै ती उपकरणहरु प्रयोगविहीन बनेर थन्किए र यस वर्षको अवस्था पनि त्यस्तै छ।’

प्रकाशित मिति: : 2021-05-07 11:34:00

प्रतिकृया दिनुहोस्