भारतबाट फर्किएकालाई किन सकिएन सीमाबाट व्यवस्थित रूपले घर पठाउन?

सविता बुढा

रोजगारीका लागि भारत गएका नेपालीहरू धमाधम घर फर्किरहेका छन्। पछिल्लो डेढ महिनामामात्रै भारतसँग जोडिएको कैलाली-कञ्चनपुरको मुख्य नाका त्रिनगर हुँदै  ४० हजार तीन सय ७२ जना नेपाली घर फर्किए।

त्रिनगर नाका हुँदै फर्किएकामध्ये १६ हजार दुई सय ८५ जनाको नाकामै एन्टिजेनबाट कोरोना परीक्षण गरियो।  परीक्षणमा एक हजार पाँच सय १९ जनामा कोरोना संक्रमण पुष्टि भयो।

त्रिनगर नाकाबाट मात्रै भित्रिएकामध्ये डेढ हजार बढीमा संक्रमण पुष्टि भए पनि अधिकांशलाई न आइसोलेशनमा राखिएको छ, न त क्वारेन्टिनमा।

त्रिनगर नाकामा स्थापना गरिएको हेल्थ डेस्कका कर्मचारी गणेश साउँदका अनुसार नाकामा कोरोना संक्रमण पुष्टि भएकालाई धनगढी उपमहानगरपालिका-१५ कनरीमा बनाइएको आइसोलेसन सेन्टरमा पठाउने गरिएको छ।

उक्त सेन्टरमा भने करिब पाँच सय संक्रमितमात्रै बसेको धनगढी उपमहानगरपालिकाको तथ्यांक छ।

बाँकी संक्रमित कहाँ गए? उनीहरूको कसरी व्यवस्थापन भइरहेको छ?

यसको ठ्याक्कै जवाफ कुनै सरकारी निकायसँग छैन। 

धनगढी उपमहानगरका कोभिड उपसमिति संयोजक तथा वडा नम्वर ८ का वडाध्यक्ष नारायणप्रसाद बरालले संक्रमितहरू होम आइसोलेसनमा बस्ने भनेर गए पनि नबस्ने गरेको आफूले थाहा पाएको बताए।

प्रकाशित मिति: : 2021-05-05 18:21:00

प्रतिकृया दिनुहोस्