जो र्‍याप गाएर सुनाउँदै छन् 'रामनारायण यादव' को कथा

सेतोपाटी

काठमाडौं

नेपाली र्‍याप-हिपहप र विराटनगरको पुरानो सम्बन्ध छ। नेपालमा र्‍याप भित्र्याउने श्रेय पाएका र्‍यापर गिरीश खतिवडा यहीँका हुन्।

उनले 'विराटनगरको हुँ म धन' भन्दै र्‍यापसमेत बनाएका छन्। गिरीशपछि विराटनगरकै सुदिन पोखरेलले पनि र्‍यापको दुनियाँमा नाम कमाए। गिरीशले काठमाडौं र सुदिनले अस्ट्रेलियाबाट आज पनि नयाँ र्‍याप रचिरहेका छन्। 

र्‍यापको उर्वर भूमि विराटनगरमा यो विधाप्रति आकर्षित युवा जमातको कमी हुने कुरै भएन। यही जमातबाट २५ वर्षीय शैलेश निरौलाले र्‍यापको विरासत धान्ने बलियो संकेत देखाएका छन्।

यो नयाँ वर्षमा उनले सार्वजनिक गरेको 'रामनारायण यादव' गीत यसकै प्रमाण हो।

'भैया र धोती भनेर हेपिनु, कालो वर्ण र फरक लवजका आधारमा हाँसोको पात्र बनाइनु आम मधेसवासीले भोग्ने विभेद हुन्,' शैलेश भन्छन्, 'रामनारायण यादव गीतमा यस्तै विभेद भोगेका पात्रको कथा भनेको छु।'

कसैको रूपरंग र लवाइका आधारमा पूर्वाग्रह राख्ने र विभेद गर्ने अधिकार कसैलाई हुँदैन। मधेसी मूलका नेपालीले भोग्ने विभेदप्रति असन्तुष्टि र आक्रोश पोखिएको छ 'रामनारायण यादव' मा। 

प्रकाशित मिति: : 2021-05-05 07:37:00

प्रतिकृया दिनुहोस्