नेपालमा अहिले होमस्टे विकासको रहर र लहर उर्लिँदो छ अझ भन्ने हो भने कतिपय जिल्लामा त चुलिँदो छ
यतिबेला हामी ‘कोरोना–कहर’को दोस्रो लहरले गाँजिएका छौं। महामारी नियन्त्रण र जनस्वास्थ्यका सवालले उच्च प्राथमिकता पाउनुपर्ने अवस्था छ। अहिले दैनिकजसो दर्जनौंले ज्यान गुमाउनुपर्ने र हजारौं संक्रमित हुनुपर्ने अवस्था आएको छ।
कोरोनाले पूर्वराजा–रानीदेखि मन्त्रीहरू, सांसद, डाक्टर, नर्स, प्राध्यापक, अध्यापक, सेना, प्रहरी, साहित्यकार, पत्रकार, वकिल, इन्जिनियर, ठुला व्यापारी, साना व्यापारी, उद्योगी, मजदुर, किसान, ठेकेदार, पाइलट, ड्राइभर, परिचारक, वृद्धवृद्धा, युवा, बालबालिका आदि कसैलाई छाडेको छैन। पद, उमेर, प्रतिष्ठा, धन, प्रतिभा, योगदान आदि केही भनेको छैन कोरोनाले।
कोरोनाले विश्व नै आक्रान्त छ, भयभीत र त्रसित छ। यो ‘महामरक’ (प्यान्डेमिक) कोरोनाले संसारभर नै आर्थिक, सामाजिक, सांस्कृतिक, राजनीतिक, शैक्षिक आदि विविध क्षेत्रहरू तीव्र ढंगले ध्वस्त बनाएको छ।
वातावरणीय हिसाबले कोरोनाले केही ‘सकारात्मक’ प्रभाव पारेको भए पनि अन्य बहुआयामिक क्षेत्रमा अपूरणीय र अभरणीय क्षति पुगेको छ। विश्वबाट कोरोना निमिट्यान्न कहिल्यै होला कि नहोला ? यो संशय र प्रश्न यतिबेला विश्वका सात अर्ब मानिसमा नै रहेको छ।
जवाफ दिन सक्ने हालतमा कोही छैन। किनकि पहिलो, दोस्रो, तेस्रो लहर गर्दै यसले अनेक लहर र ‘भेरियन्ट’का रूप धारण गर्दै कहिले कुन गोलाद्र्ध र कहिले कुन गोलाद्र्धमा सताइरहेको छ।