गर्भावस्थामा खोप लगाए शिशुमा बन्नसक्छ कोरोनाविरुद्ध एन्टिबडी

हिमाल खबर

काठमाडौँ

सजना बराल

गर्भवती भएको सात महीनामा कोभिड–१९ विरुद्धको खोप लगाएकी डा. प्रेरणा श्रेष्ठको नवजात शिशुमा पनि कोरोनाभाइरस प्रतिरोधात्मक क्षमता रहेको पुष्टि भएको छ। संयुक्त राज्य अमेरिकाको न्यूयोर्कमा बस्ने श्रेष्ठ आफूले खोप लगाएको हुँदा छोरामा पनि एन्टिबडी सरेको थाहा पाएपछि हर्षित छिन्। 

 

दुई हप्ताअघि दोस्रो सन्तानका रूपमा श्रेष्ठले छोरा जन्माएकी थिइन्। त्यसअघि उनले गत १६ फागुनमा फाइजर–बायोएनटेक खोपको पहिलो र ८ चैतमा दोस्रो डोज लगाएकी थिइन्। “गत फेब्रुअरीमा यहाँको सीडीसी (सेन्टर्स फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सन) ले गर्भवतीलाई पनि इच्छा अनुसार खोप लगाउन भनेको थियो,” उनी भन्छिन्, “शुरूमा त के गरौं भयो। डर–डर पनि लागेको थियो। तर, लगाएँ।”

नवजात शिशुमा एन्टिबडी बनेकाे पाइएकाे चिकित्कसले बताएका छन्। “नियमित जाँचका लागि २३ अप्रिल (१० वैशाख) मा छोरालाई हन्टिङ्टन हस्पिटल लिएर गएकी थिएँ,” श्रेष्ठले भनिन्, “डाक्टरले मलाई कोभिड–१९ को खोप लगाए/नलगाएको सोधे। अनि, बच्चाको रगतमा स्पाइक प्रोटिन एन्टिबडी देखिएको बताए। त्यो सुनेर एकदम खुशी भएँ, सही निर्णय लिएछु भन्ने लागेको छ।”

श्रेष्ठ स्टोनी ब्रुक युनिभर्सिटीकी सहायक प्राध्यापक हुन्। त्यहाँको न्युरोबायोलजी एन्ड बिहेबियर विभागमा भर्खर अध्यापन शुरू गरेकाले नियमित कार्यालय जानैपर्ने बाध्यता थियो। विद्यार्थी एवं अन्य कर्मचारीसँग घुलमिल हुनुपर्ने हुँदा कोरोनाभाइरस संक्रमणको जोखिम अत्यधिक देखेर गर्भावस्थामै खोप लगाउने निर्णय लिएको उनी बताउँछिन्। 

श्रेष्ठले आफ्नो शिशुमा कोरोनाभाइरसँग लड्नसक्ने तागत रहेकोबारे केही दिनअघि सोसल साइट ट्वीटरमा लेखेकी थिइन्। उनको ट्वीट भाइरल बन्यो। विश्वभरका मानिस यसबारे थप सोधीखोजी गर्न उनलाई सम्पर्क गरिरहेका छन्। आइतबारसम्म उनको ट्वीट ७३ हजार पटक रिट्वीट भएको छ भने साढे चार लाखले लाइक गरेका छन्।
 

प्रकाशित मिति: : 2021-05-04 12:52:00

प्रतिकृया दिनुहोस्