अस्मिता खड्का
काठमाडौं, झोंछेकी स्थानीय ८० वर्षीया नानीमैया महर्जनलाई याद भएसम्म उनी ५० वर्षसम्म काठ, माटो, इँटा र ढुंगाले बनेको चारतले परम्परागत घरमा बसिन् । उनी आफ्नै खेतबारीमा प्रशस्त अन्नबाली उब्जाउँथिन् । अँगेनामा पाकेका खानेकुरा खान्थिन् ।
अचेल उनी आफ्ना छोराले बनाएको सिमेन्टको घरमा बस्छिन् । जहाँ ग्याँस नबाली खाना पाक्दैन । एसी/पंखा र हीटर नचलाई हिउँद र बर्खा काट्न सकिंदैन । तीव्र रूपमा विकास भएको काठमाडौं उपत्यकाबारे उनी अचम्मित छिन् ।
उनी भन्छिन्, ‘मैले पूरै जीवन काठमाडौंमै बिताएँ । भूकम्प, राजनीतिक उतारचढावलगायत थुप्रै घटनाक्रम देखें/भोगें तर धान फल्ने माटोमा घरैघर, असमान मौसम, मान्छे नै मान्छे भएको अहिलेको जस्तो माहोल कहिल्यै देखिनँ । अचेल यी सबै कुरा तुलना गर्दा अचम्म लाग्छ ।’
सिमेन्टको घरमा बस्दा विभिन्न स्वास्थ्य समस्या भोग्नुपरेको नानीमैया सुनाउँछिन् । ‘उहिलेका घरमा बस्दा जाडोमा न्यानो र गर्मीमा शीतल हुन्थ्यो । त्यो बेला हाम्रा बा–आमाले बुढेसकालसम्म पनि बिरामी परें भनेको सुनेका थिएनौं । अचेल सिमेन्टको घरमा बसेर होला हातखुट्टा सुन्निने, ढाड दुख्ने र छाला चिलाउने समस्याले सताउन थालेको पनि ३० वर्ष जति भयो । यसबाहेक समस्या त कति छन् कति ?’