सरकारले कोरोना भाइरसको उपचारका लागि अवकाश प्राप्त चिकित्सकलाई एक वर्षका लागि करारमा लिने निर्णय गरेको छ।
प्रधानमन्त्री केपी शर्मा ओलीले देशवासीका नाममा सोमबार सम्बोधन गर्दै यस्तो जानकारी दिएका हुन्।
सम्बोधनका क्रममा प्रधानमन्त्री ओलीले भने, 'सरकारले अवकाश प्राप्त चिकित्सकलाई एक वर्षका लागि करारमा नियुक्त गर्ने पनि निर्णय गरेको छ।'
कोरोना नियन्त्रणमा खटिनेहरूलाई स्वास्थ्यकर्मी, चालक, सहचालक, सफाइकर्मीलगायत सुरुको तलब स्केलको ५० प्रतिशतले हुन आउने रकम बराबर प्रोत्साहन भत्ता दिने पनि प्रधानमन्त्रीले सम्बोधनका क्रममा घोषणा गरे। त्यस्ता कर्मचारीको परिवारको उपचार र बीमाको व्यवस्था गर्ने पनि उनले बताए।
प्रधानमन्त्री ओलीले कुनै पनि नागरिक स्वास्थ्य सुविधाबाट बञ्चित हुन नपरोस् भनेर सरकार गम्भीर रहेको बताए। उनले भने,'कुनै पनि नागरिक स्वास्थ्य सुविधाबाट बञ्चित हुन नपरोस् भनेरसङ्घीय सरकार, प्रदेश र पालिकाहरूमा विभिन्न तहका अस्पताल बनाउने काम भइरहेको छ।'
नेपाली सेनालाई एक हजार शैय्याको अस्पताल बनाउन निर्देशन दिएको जानकारी दिँदै प्रधानमन्त्रीले भने, 'पार्टी प्यालेस, विद्यालय, रङ्गशाला हल, होटल, कारखाना, गोदाम घरलगायतलाई क्वरेण्टाइन, आइसोलेशन, होल्डिङ सेन्टर बनाइने छ।'
प्रधानमन्त्रीले वीर अस्पतालको नयाँ भवन, सेनाको त्रिचन्द्र मिलिटरी अस्पताल र अन्य केही ठूला अस्पताललाई कोभिड अस्पतालको रूपमा विकास गरिने पनि बताए।
प्रधानमन्त्रीले सम्बोधनमा देशभरका ठूला अस्पतालमा अक्सिजन प्लान्ट बनाउने, भएका प्लान्टको क्षमता बढाउने र बिग्रेका प्लान्टको मर्मत गर्न निर्देशन दिइएको पनि जानकारी दिए।
प्रधानमन्त्रीले अस्पतालहरुले आफूसँग भएका शैय्याबारे हरेक दिन स्वास्थ्य मन्त्रालयलाई रिपोर्ट पठाउनुपर्ने र शैय्या लुकाएको पाइएमा कारबाही हुने चेतावनी पनि दिए।