लकडाउनकै अनुभूति। रित्तो सडक। सडक किनारमा सटरले छोपिएका पसलहरु। फाट्टफुट्ट मानिस। अनि चर्को घाम। पछाडि रुक्स्याक र हातमा झोला भिर्दै गौशालाबाट विमानस्थलतिर हिँडिरहेका युवा। ती पक्कै मरूभूमिमा जीवन खोज्न हिँडिरहेका छन्। एक वर्षअघि गरेको लकडाउनको फल यतिखेर लाग्नुपर्थ्यो सायद। बीऊ छरेर उम्रियो उम्रिएन, ख्याल समेत नगर्दा जसरी टुसा नै सुकेर जान्छ, मुलुकमा त्यही दृश्य देखियो। परिणाम यतिखेर हामी निषेधाज्ञामा छौं। स्वास्थ्य मन्त्रालयले अपील निकालेर अस्पतालको शैय्या उपलब्ध गराउन सक्दिन भनिसक्यो। यति लाचार सरकार भोग्नुको परिणाम नै हुनुपर्छ निषेधाज्ञामा पनि अविराम यात्रा देखिरहेका छौं – खाडीतिरको।
केही अघिमात्रै पत्रकार होम कार्कीको एउटा पुस्तक सार्वजनिक भयो – सनैया। स्वावलम्बनका नारा घोकाउँदा घोकाउँदै थल परेर निस्तेज बन्दै गएको देश। अनि त्यही देशका जुझारु नागरिकको मरूभूमिको यात्रा। धेरै पीडा थोरै सफलताका बयान। अवसरवादी राजनीतिकै कारण मुलुकभित्र सास फेर्ने आशा मारेर तातो बालुवामा भेडा चराउन जानेहरुको ताँती। अनि त्यहाँ पुगेपछिको पीडा र मुलुक फर्किनका लागि हुने संघर्षको फेहरिस्त कार्कीले सनैयामा राखेका छन्। उनले लेखे। पढ्नेले पढे। जानेहरु रुक्स्याक कसेर लागिरहेकै छन्। सत्ताले लकडाउन पनि गरिरहेकै छ। अनि सजिलै भनिदिएको छ – अस्पतालमा शैय्या उपलब्ध गराउन सकिन्न।
निषेधाज्ञाको दुई दिनमा देखिएका दृश्यहरुले तिनैको कथालाई पुनरावृत्ति गर्नेछ जसलाई कार्कीले पुस्तकाकारका रुपमा उनेका छन्। गौशालाबाट लखरलखर विमानस्थलतिर लम्किएका पाइलाहरु विवशताको प्रतीक हुन्। शासकका शैलीका प्रतिविम्ब। ती प्रतिविम्ब सत्ताका लागि प्रीतकर विषय पनि होइनन्। ज्युँदै आउन या बाक्सामा, त्यो पनि शासकका लागि चासो छैन। यतिमात्र हो - शासक बाच्नुपर्छ। ऊ बाच्नका लागि अरु कतिले ज्यानको आहुती चढाउनुपर्छ परोस्।