भारतबाट आउनेलाई सीमामा नरोकिने, घरसम्म जाने गाडीको पनि व्यवस्था

नेपाल खबर

काठमाडाैं

निषेधाज्ञाको समयमा पनि भारतबाट फर्किने नेपालीलाई सरकारले सीमामा नरोक्ने भएको छ। सरकारले यसअघि नै तोकेको २० वटा नाकामा हेल्थ डेस्क राखेर चेकजाँच गरिरहेको छ। केही नाकामा घरसम्म पुग्ने व्यवस्था गरेको हो।

निषेधाज्ञा नभएका र सार्वजनिक सवारीसाधन सञ्चालनमा रहेका नाकाबाट आफैँ जाने भएपनि निषेधाज्ञा भएका जिल्लाले विशेष व्यवस्था गरेका हुन्। 

सरकारले मुख्य नाका छलेर आउनेलाई भने रोक्ने गरेको छ। तर सरकारले नै तोकेका २० वटा नाकाबाट आउन रोकतोक नहुने स्थानीय प्रशासनले जनाएका छन्।

सरकारले भारतबाट आउनेका लागि पशुपतिनगर, काकडभिट्टा, रानी, कुनौली, ठाडी, माडर, भिट्टामोड, मलंगवा, गौर, वीरगञ्ज, महेशपुर, बेलहिया, तौलिहवा, कृष्णनगर, जमुनाह, सुरजपुर, गौरिफन्टा, गड्डाचौकी, झुलाघाट र दार्चुला नाका तोकेको छ। 

यी नाकामा स्थानीय तह, स्वास्थ्य कार्यालय र सुरक्षा निकायले हेल्थ डेस्क सञ्चालन गरेका छन्। नाकामा रहेका हेल्थ डेस्कमा भारतबाट आउनेको स्वास्थ्य जाँच गरिने र त्यसपछि घर पठाउने गरिएको छ।

पर्साका प्रहरी प्रमुख एसपी बेलबहादुर पाण्डेले वीरगन्ज नाकाबाट आउनेलाई नरोक्ने र घरसम्म पुग्ने व्यवस्था गरिएको बताए। उनका अनुसार स्थानीय यातायात व्यवसायीसँग समन्वय गरेर यसरी आउनेलाई घरसम्म पुग्ने गाडीको समेत व्यवस्था गरिएको छ।

प्रकाशित मिति: : 2021-04-29 19:54:00

प्रतिकृया दिनुहोस्