जुम्लामा बैशाख १५ देखि विद्यालय बन्द

Symbolic photo
Symbolic photo

जुम्लामा बैशाख १५ गते देखि विद्यालय बन्द गर्ने निर्णय गरिएको छ। 

जिल्ला प्रशासन कार्यालय जुम्लामा बसेको कोभिड -१९ संकट व्यवस्थापन समितिको बैठकले कोराना संक्रमणको जोखिम बढ्दै गएपछि  जिल्लाका सरकारी, सामुदायिक,नीजि विद्यालय बन्द गर्ने निर्णय गरेको हो। 

कोरोना संक्रमण फैलन नदिन विद्यालय बन्द गर्ने निर्णय गरेको सहायक प्रमुख जिल्ला अधिकारी नन्दराम चौलागाइले जानकारी दिए। 'तत्कालका लागि कोरोना संक्रमणको उच्च जोखिममा रहेका विद्यालय बन्द गरिने निर्णय गरिएकाे हाे' उनले भने।

बैठकले जिल्ला बाहिरबाट प्रवेश गर्ने मानिसको लगत संकलन गर्ने, जुम्ला कालिकोटको सिमाना नाग्ममा हेल्थ डेस्क स्थापना गर्ने र प्रत्येक वडास्तरमा लगत संकलन गरेर जिल्ला प्रशासन कार्यालयमा पेश गर्ने निर्णयसमेत गरेको छ। 

त्यस्तै गाउँपालिका भित्र संकलन भएको लगत जानकारी गराउनका लागि हरेक गाउँपालिकामा सम्पर्क व्यक्ति तोक्ने निर्णय भएको सहायक प्रमुख जिल्ला अधिकारी चौलागाइले बताए। 

बैठकले नगरपालिका, गाउँपालिकामा सभा, समारोह, भेला, गोष्ठी गर्दा बढिमा १५ जना मात्र जम्मा गर्न पाउन निर्णय गरेको छ। 

त्यस्तो कार्यमा स्वास्थ्य सुरक्षाका मापदण्ड पूर्णरुपमा पालना गर्नुपर्ने, घटना घटिसकेको अवस्थामा चाहिने सामाग्री सहयोगका लागि सरकारी तथा गैरसकारी निकाय संग आर्थिक सहयोग माग्ने निर्णय बैठकले गरेको थियो। 

हरेक गाउँपालिकाले कोरोना नियन्त्रण सम्बन्धि रणनीतिक योजना बनाउनुपर्ने र तीन दिनपछि बस्ने संकट व्यवस्थापन समितिको बैठकमा पेश गर्नुपर्ने निर्णय भएको जिल्ला प्रशासन कार्यालय जुम्लाले जनाएको छ।

पछिल्लो समय जुम्लामा ९ जना संक्रमित भेटिएका छन्। अस्पतालमा उपचार गर्न आएका बिरामीको पिसिआर परिक्षण गर्दा ९ जना संक्रमित भेटिएका हुन्। उनीहरुको आइसोलेसनमा उपचार भइरहेको छ। 

जिल्ला प्रशासन कार्यालयले मास्कको प्रयोग गर्न, सेनिटाइजर र साबुन पानीले नियमित हातधुन र व्यक्तिगत तथा सामाजिक दुरी कायम गर्न आग्रह गरेको छ।

कोरोनाको लक्षण देखिने वित्तिकै नजिकैको कोभिड अस्पताल तथा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा जाँच गराउनको लागि सुझावसमेत  दिएको छ।

प्रकाशित मिति: : 2021-04-27 18:33:00

प्रतिकृया दिनुहोस्