पर्यटक तान्दै सत्खलुवा ताल

File photo
File photo

मेनुका चौधरी 
बर्दियाको बारबर्दिया नगरपालिका– ९ सत्खलुवा तालमा रातो कमलको फुल हेर्नेको लर्को लागेको छ।  

सात वटा ताल मिलेर बनेको नाग देउताको बासस्थानको रुपमा यो परिचित छ। रमणीय वातावरण र मनोरम दृश्यले यहाँ पुग्ने पर्यटकलाई आनन्दित बनाउँछ।

पूर्वपश्चिम राजमार्गको बैदी चोकबाट करिब तीन किलोमिटर उत्तरमा अवस्थित सत्खलुवा ताल पुग्नु अगावै फराकिला बाटो अनि मनोरम दृश्यको बीचमा बसोबासको लागि सत्खलुवा होमस्टे छ। 

बर्दियाको सदरमुकाम गुलरियादेखि करिब २५ किलोमिटरको दूरीमा पर्ने पर्यटकीय क्षेत्र सत्खलुवा ताल जैविक विविधताले भरिपूर्ण छ। विभिन्न जातिका जीवजन्तुको साथ साथै अनेक प्रजातिका चराचुरुङ्गी, जङ्गली पाटे बाघ, चित्तल, दुम्सी, बँदेललगायत जनावर यहाँ अवलोकन गर्न पाइन्छ। 

बर्दिया राष्ट्रिय निकुञ्जसँगैको ताल पर्यटकीय गन्तव्य बन्ने प्रशस्त सम्भावना बोकेको भए पनि प्रचारप्रसारको अभाव रहेको छ। सामुदायिक वनभित्रको तालमा डुङ्गा सयरको व्यवस्था गरिएसँगै त्यस वरपरका पर्यटकको भीड लाग्ने गरेको स्थानीय बताउँछन्। 

यहाँ दृश्यावलोकन स्तम्भ बनेपछि सूचना सम्प्रेषणमा सजिलो भएको नगरपालिकाका प्रमुख दुर्गाबहादुर थारुले बताए। विसं २०७१ मा नेपाल सरकारले उक्त क्षेत्रलाई नेपालको सिमसार क्षेत्र घोषणा गरेसँगै सो स्थानको जग्गाको मूल्य बढेको बारबर्दिया–९ खैरेनीका उज्जवल थारुले बताए। 

शुरुदेखि नै आफू कर्मचारीको रुपमा रहेको र ताल घुम्न आउँदा जङ्गलमा सचेत हुनुपर्ने थारुले आग्रह गरे। पर्यटकले ताल क्षेत्र वरपर विश्राम गर्न मिल्ने टहरा, स्वच्छ पिउने पानीको प्रबन्धलगायत व्यवस्थापन गर्न आवश्यक रहेको स्थानीय पर्यटक रामी थारुले सुझाव दिए। 

सत्खलुवा ताल संरक्षण समितिका रेशमलाल अधिकारीले यस तालको विकास तथा प्रवद्र्धनका लागि स्थानीय सरकार र केन्द्रले अझै चासो दिनुपर्ने बताएका छन्। सार्वजनिक बिदा वा शनिबारका दिन बढी भीडभाड रहने यस तालमा वनभोजको लागि पनि पर्यटकको रोजाइ बन्न पुगेको स्थानीय बताउँछन्। रासस 

प्रकाशित मिति: : 2021-04-27 16:36:00

प्रतिकृया दिनुहोस्