उदयपुर सिमेन्ट प्रालिले पछिल्लो तीन महिनाको अवधिमा ४९ करोड आम्दानी गरेको छ।
उक्त आम्दानी चालु आर्थिक वर्षको छ महिनाको आम्दानी बराबर हो। उद्योगले चालु आवको साउनदेखि पुस मसान्तसम्म ५२ करोड आम्दानी गरेको थियो।
सो अवधिसम्म उद्योगले छ लाख ९८ हजार ५८६ बोरा सिमेन्ट बिक्री गरेको थियो। गोपी न्यौपानेले उद्योगको महाप्रबन्धकको जिम्मेवारी सम्हालेपछिको १०० दिनमा ६ लाख ६० हजार १७३ बोरा सिमेन्ट बिक्री भएको हो।
चालु आवको साउनदेखि पुससम्मको तुलनामा पछिल्लो १०० दिनमा सिमेन्ट उत्पादन र आम्दानी दुवै वृद्धि भएको उद्योगले जनाएको छ। उद्योगले पछिल्लो चार वर्षको उत्पादन इतिहास तोड्दै यही वैशाख ६ गते १७ हजार १६४ बोरा सिमेन्ट बिक्री गर्न सफल भएको छ।
पुस मसान्तसम्म तत्काल तिर्नुपर्ने दायित्व ६६ करोड रहेकामा उद्योबाट नै कमाइ गरी सरकारी राजश्व रु सात करोड, कर्मचारी सेवा सुविधा भुक्तानी आठ करोड, वस्तु आपूर्ति सेवाको भुक्तानी ३० करोड, अवकाश कोषमा चार करोड गरी कूल ४९ करोड भुक्तानी गरिएको सूचना अधिकारी लक्ष्मणप्रसाद पोखरेलले जानकारी दिए।
उद्योगले यही अवधिमा नेपाल विद्युत् प्रधिकरणलाई भुक्तानी गर्न नसकेको २२ करोड भुक्तानीसमेत गरेको छ। महाप्रबन्ध नियुक्त भएदेखि न्यौपाने उद्योगको रणनीतिक सुधारमा खटिइएका थिए।
सन् १९९४ मा जापान सरकारको सहयोगमा उद्योगको स्थापना भएको थियो २८ वर्षअघि जडान गरिएको प्रविधि बारम्बार बिग्रिरहँदा उद्योगले पटकपटक क्षति व्यहोर्दै आएको थियो। उद्योगले पछिल्लो समय भारतबाट विशेषज्ञ ल्याएर मेसिन मर्मत गर्ने गरेको छ।
विशेषज्ञले अहोरात्ररूपमा खटिएर ‘ब्रेकडाउन’ कम गर्न सफल भएको उद्योगले जनाएको छ। यो अवधिमा क्लिन सेल, मिल र कोलमिलको रोलर मर्मत गरी सञ्चालनमा ल्याइएको छ। लाइनर, ड्राइफार्मलगायत उपकरण भने नयाँ जडान गरिएको छ।
उद्योगमा कोइला, जिप्सन, आइरनओरलगायत इन्धन तथा कच्चा पदार्थको मौज्दात शून्य हुने अवस्था पनि अहिले समाधान भएको छ। न्यौपाने आएलगत्तै यसको व्यवस्थापन गरी माघ १० गतेदेखि नै नियमित रुपमा कारखाना सञ्चालन हुने व्यवस्था मिलाएका छन्।